चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको हो ।
कार्यक्रममा मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मानित गर्दै परिचयपत्र वितरण गरेका थिए ।
चलचित्र विकास बोर्डले वितरण गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’लाई औपचारिक रूपमा चलचित्रकर्मीको पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ । यस कार्यक्रममा सहभागी चलचित्रकर्मीले आफूले पाएको परिचयपत्रले आफ्नो पेशागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी गरी दुई प्रकारका परिचयपत्र वितरण गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिचयपत्र वितरण गरेका थिए । चलचित्र विकास बोर्डद्वारा आयोजित सो कार्यक्रममा मन्त्री गुरुङले कलाकारहरुलाई नियमित स्वास्थ्य जाँच र अनुशासित जीवनशैली अपनाउन सुझावसमेत दिएका थिए ।
सो कार्यक्रममा विशिष्ट चलचित्रकर्मीले एक लाख ५० रुपैयाँ बराबरको स्वास्थ्य बीमा प्रदान गरिने र चलचित्रकर्मीको परिचय प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ बराबरको औषधी उपचार बीमा प्रदान गरिने बताइएको थियो ।
सो अवसरमा उनले राष्ट्रिय चलचित्र दिवस असोज १५ मा मनाइने र सो दिवस भव्यताका साथ मनाउन चलचित्रकर्मीलाई आग्रहसमेत गरेका थिए । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नयाँ बन्ने चलचित्र नीतिले हाल देखिएका केही अपूर्णतालाई सम्बोधन गर्ने सो अवसरमा बताइन् ।
बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई राज्यले परिचयपत्र दिएकाले यो महत्वपूर्ण रहेको बताए । ‘हामीले २० देखि ३० वर्षसम्म चलचित्रकर्ममा बिताएका चलचित्रकर्मीलाई परिचयपत्र दिएका छौँ । आफ्नो जीवनको ऊर्जावान् समय चलचित्रको स्तरोन्नतिमा खर्चिनुभएका चलचित्रकर्मीलाई दिइएको परिचयपत्रमा बिस्तारै सकेको सेवासुविधा थप्दै जाने छौँ ।
यो राज्य दिएको एउटा पहिचान हो । हामीले यसमा कुनै विभेद नगरी प्रक्रिया पुगेका सबै चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिरहेका छौँ,’ उनले भने । अध्यक्ष डिसीले चलचित्रमा काम शुरु गरेको ३० वर्ष पुगेकालाई विशिष्ट चलचित्रकर्मी र २० वर्ष नाघेकालाई चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको बताए ।
कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानलगायतका ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको थियो ।
परिचयपत्र हात परेपछि अभिनेत्री दीपाश्री निरौला खुशी देखिएकी छन् । उनले सरकारले दिएको यो पहिचान र उपाधिका कारण आफू सरकारको नजरमा पनि परेको धारणा व्यक्त गरिन् ।
उनले भनिन्, ‘परिचयपत्रले स्वास्थ्य बीमामा काम लाग्ला, सिंहदरबार छिर्न सजिलो होला, विमानस्थलमा सहजता थप्ला तर त्योभन्दा ठूलो कुरा चाहिँ सरकारले तिमीहरू कलाकार हौ भनी सम्मान गरेको हो ।’
‘देशले हामीलाई केही दिएन भन्नेहरूका लागि यो एउटा जवाफ हो,’ उनले भनिन्, ‘त्यसैले सरकारले दिएको यो सम्मानको हामीले पनि सम्मान गर्नुपर्छ ।’ चलचित्र समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामा चाहिँ सरकारको यस किसिमको सम्मान अपूरो देख्छन् ।
उनले भने, ‘२० वर्षअघि संघर्ष गरिरहेको व्यक्तिले अहिले फिल्म उद्योग छोडिसकेको छ भने उसलाई सरकारले विशिष्ट चलचित्रकर्मी भनेर परिचयपत्र दिनु हास्यास्पद हो ।’ उनको बुझाइमा विशिष्ट चलचित्रकर्मी त्यो हो, जसले दर्शकको अपार माया हासिल गरेको छ ।
केही चलचित्रकर्मीले भने सरकारले कलाकारहरूलाई वर्गीकरण गरेकामा रुष्ट छन् । एक चलचित्रकर्मीले आफ्नो नाम नछाप्ने शर्तमा भने, ‘अहिले चलेका कलाकारहरू अनमोल केसीदेखि सौगात मल्ल वा दयाहाङ राईसम्मलाई सरकारले विशिष्ट देख्दैन तर मनोज केसीजस्ता व्यक्तिलाई भने विशिष्ट चलचित्रकर्मी देख्छ भने यस्तो सम्मानको के अर्थ छ ?’
केहीले भने यस्तो सम्मानलाई विदेशमा ग्रीनकार्ड लिने एउटा प्रमाणपत्रका रुपमा पेश गरिरहेको यसका विरोधीहरूको तर्क छ ।









- तस्विर : नेपाल फोटो लाइब्रेरी