नेभिगेशन
साहित्य

डेढ सय वर्षपछि लेखकीय श्रेय

बेलायतका १९औं शताब्दीका सबैभन्दा प्रभावशाली राजनीतिक लेखक जोन स्टुअर्ट मिलको प्रख्यात कृति ‘अन लिबर्टी’को पछिल्लो संस्करणमा एउटा महŒवपूर्ण परिवर्तन गरिएको छ । पुस्तकको आवरणमा मिलको नामसँगै अब सह–लेखकका रूपमा उनकी पत्नी ह्यारिएट टेलर मिलको नाम पनि थपिएको छ । करिब १५० वर्षपछि ह्यारिएटले पहिलोपटक यो कृतिको औपचारिक श्रेय पाएकी हुन् ।
ह्याकेट क्लासिक्स संस्करणका ६ मध्ये ३ सम्पादकहरूले पुस्तक लेखन शैलीको गहिरो विश्लेषण गरेपछि यो निष्कर्ष निकालेका हुन् । सम्पादकहरू लिलि ओसबर्ग, माइकल सेफ्चिक र क्रिस्टोफ स्मिड–पेट्रीका अनुसार मिलले यो पुस्तक एक्लै लेखेका होइनन् । सन् २०२२ को एक लेखमा उनीहरूले नयाँ तथ्यहरू प्रस्तुत गर्दै ‘अन लिबर्टी’का धेरै शब्द र वाक्यांशहरूमा ह्यारिएटको स्पष्ट भूमिका रहेको दाबी गरेका छन् ।
जे.एस. मिल र ह्यारिएटको सम्बन्ध श्रीमान्–श्रीमतीको मात्र थिएन, उनीहरू एकअर्काका बौद्धिक सहयात्री पनि थिए । मिल आफैंले पनि आफ्नो आत्मवृत्तान्तमा ह्यारिएटलाई आफ्नो प्रेरणाको स्रोत र लेखनको मुख्य हिस्सेदार मानेका थिए । मिलका अनुसार ‘अन लिबर्टी’ को हरेक वाक्यमा उनीहरू दुवैले मिलेर काम गरेका थिए ।
महिलाको अधिकार र स्वतन्त्रताका पक्षमा आवाज उठाउने पुस्तक ‘द सबजेक्सन अफ वुमेन’जस्तो क्रान्तिकारी पुस्तकका लागि पनि मिल प्रख्यात छन् । तर, उनैकी पत्नीको नाम आफ्नै सहकार्यमा लेखिएको पुस्तकको कभरमा आउन डेढ शताब्दी लाग्नु एक प्रकारको साहित्यिक व्यंग्य नै बनेको छ ।
ह्यारिएट टेलर मिलले सन् १८५१ मा मिलसँग विवाह गर्नुअघि नै उनीहरूबीच गहन पत्रव्यवहार र विचारको आदानप्रदान हुने गर्दथ्यो । भनिन्छ, मिलका कतिपय उदारवादी विचारहरूलाई तिखार्ने र मानवीय संवेदना भर्ने काम ह्यारिएटले नै गरेकी थिइन् । मिलले सधैं ह्यारिएटलाई आफूभन्दा उच्च बौद्धिक क्षमता भएको व्यक्तिका रूपमा सम्मान गर्थे । तर तत्कालीन पितृसत्तात्मक समाज र प्राज्ञिक जगतले ह्यारिएटको योगदानलाई लामो समयसम्म छायामा पारिदियो । अहिले आएर उनको नाम किताबको आवरणमा नै छाप्नुलाई प्रकाशकले इतिहासको गल्ती सच्याउने प्रयास गरेको हुन् ।
त्यसो यसरी पत्नीलाई पनि किताब लेखनको श्रेय दिइएको पहिलो पटक भने होइन । यसअघि पछिल्लो उदाहरण प्रख्यात क्यानडेली इतिहासकार विल डुरान्ट र उनकी पत्नी एरियलको सन्दर्भमा पनि यसरी नै किताब लेखनको श्रेय दिइएको थियो । डुरान्टको ‘द स्टोरी अफ सिभिलाइजेशन’ निकै प्रख्यात पुस्तक हो । उनको १८ हजार पृष्ठको यो पुस्तकमा पछिल्ला भागमा एरियलको पनि उत्तिकै योगदान रहेको भन्दै प्रकाशकले सहलेखकका रुपमा श्रेय दिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
सत्तामा लेखक

सत्तामा लेखक

पाठक बन्दैछन् श्रोता

पाठक बन्दैछन् श्रोता