नेभिगेशन
अर्थतन्त्र

ऊर्जाबाट कोही पनि वञ्चित नहोस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् । नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले शुक्रबार मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताए । ‘२१औं शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढेर गएको छ, समयसापेक्षरूपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिनेछ,’ उनले भने ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गरे । अन्तरमन्त्रालय समन्वय गरेर ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लागिने उनले स्पष्ट पारे । ‘पानी अभावले खेतीयोग्य जमिन बाँझो हुने अवस्थाको अन्त्य गरिनुपर्छ,’ उनले भने, ‘सहरी र ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ निर्माणका लागि ‘टिम’ बनाएर अगाडि बढ्नेछु ।’ उनले वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई थप बलियो बनाउनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले २१औं शताब्दी भनेको अनुसन्धानको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे । सुशासन ऐनलाई टेकेर मन्त्रालयमा सुशासन समिति गठन गर्ने र वित्तीय सुशासनलाई प्रभावकारी ढंगले अगाडि बढाइने उनले बताए ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा आएको उजुरी र यहाँ भएका चुनौतीलाई अध्ययन गरेर समाधानमा लाग्ने स्पष्ट पारे । उनले मन्त्रालयमा भएका कामका बारेमा प्रत्येक हप्ता सञ्चारमाध्यममार्फत आम जनतासम्म लैजान कर्मचारीलाई निर्देशन दिए । विवेकशील साझा पार्टीका तर्फबाट २०७४ सालमा समानुपातिक तर्फबाट बागमती प्रदेशको प्रदेशसभा सदस्य बनेका श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट विजयी भई युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
प्रदेशसभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन मन्त्री श्रेष्ठले महŒवपूर्ण भूमिका खेल्ने बताए । ‘बिजनेस एड्मिनिस्ट्रेसन’मा स्नातक गरेका उनले होटल रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरेका रूपमा काम गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्