नेभिगेशन
मनोरञ्जन

एचबीओको ठूलो दाउ ‘ह्यारी पोटर’मा

अहिलेको समयमा कुनै लोकप्रिय शृंखला बनाउनु ठूलो कुरा भएन । गलाकाट प्रतिस्पर्धा भएको हलिउडमा राम्रा शृंखलाहरु निकै नै बनेका छन् तर अहिलेलाई त्यो पनि ठूलो कुरा हुन छाडेको छ । खासगरी एचबीओ टेलिभिजनका लागि त राम्रा शृंखला वा डकुमेन्ट्री बनाउने एउटा लामो इतिहास नै बोकेको छ । अहिलेको समयमा ‘गेम अफ थ्रोन्स’जस्ता शृंखला बनाउनु भने फलामको च्यूरा बराबर हुन पुगेको छ ।
टेलिभिजनमा आँखा टाँसिने गरी वा त्यही कार्यक्रमका लागि उत्सुक हुने गरी दर्शकले प्रतिक्षा गर्ने सामग्रीको अभाव बढिरहेको बेला आउँदो क्रिसमसमा रिलिज गर्ने तयारी भइरहेको ह्यारी पोटरको टेलिभिजन शृंखला भने सबैको प्रतिक्षाको विषय बन्न पुगेको छ । स्वयं यो शृंखला निर्माण गरिरहेको वार्नर ब्रदर्श डिस्कोभरीका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना भएको वार्नरका ग्लोबल स्ट्रिमिङ प्रमुख जेबी पेर्रेटेले बताएका छन् ।
पेर्रेटेका अनुसार कम्पनीले पारामाउन्टसँग कम्पनी गाभ्ने सहमतिपछि छिटोभन्दा छिटो ग्राहक संख्या बढाउने लक्ष्य राखेको छ । पारामाउन्ट र वार्नरजस्ता दुई ठूला स्टुडियो गाभिए भने अमेरिकाको सबैभन्दा ठूलो स्टुडियो हुनेछ ।
विश्लेषकहरूका अनुसार यो अधिग्रहणपछि एचबीओ म्याक्स र प्रतिस्पर्धी प्लेटफर्म पारामाउन्ट+ बीच विलय हुन सक्छ । यो विलयलाई संसारभरका मनोरञ्जन प्रेमीले चासोपूर्वक हेरेका छन् ।
‘हामीले तिरेको मूल्यले यो व्यवसायलाई अघि बढाइराख्ने र निरन्तर वृद्धि हुने अपेक्षा गरिएको छ,’ उनले थपे, ‘यसको विरासत, इतिहास र एचबीओ ब्रान्डको मूल्यलाई हेर्दा, यो परियोजना आगामी धेरै वर्षसम्म कुनै न कुनै रूपमा जारी रहनेमा शंका छैन ।’
वार्नरले ह्यारी पोटरको आठ एपिसोडको पहिलो सिजनका लागि क्रिसमस आसपास रिलिज मिति तय गरेको जनाएको छ । यो सिरिज गत गर्मीयामदेखि बेलायतमा छायांकन भइरहेको छ र सम्भवतः पारामाउन्टको अधिग्रहण प्रक्रिया पूरा भएपछि सार्वजनिक हुनेछ ।
पेर्रेटेले भने, ‘पोटर हाम्रो सबैभन्दा ठूलो परियोजना हुनेछ ।’
‘ह्यारी पोटर पूर्ण रूपमा फरक स्तरमा छ र सम्भवतः हाम्रो सबैभन्दा ठूलो एकल बौद्धिक सम्पत्ति (आईपी) हो । त्यसैले यसमा सधैं जोखिम रहन्छ,’ पेर्रेटेले भने । एचबीओसँग डुन, ईटी र पेइन्गुइनजस्ता सफल फ्रेन्चाइज विकास गर्ने राम्रो अनुभव छ । उनका अनुसार ह्यारी पोटरमा ‘अत्यन्त ठूलो विरासत र विशाल प्रशंसकको आधार’ छ । यसले यो शृंखलालाई अझ ठूलो बनाउँछ । यो शृंखला आउँदो १० वर्षसम्म टेलिभिजनमका लागि निर्माण हुने र प्रदर्शन गर्ने क्रम जारी रहनेछ । यो शृंखला प्रख्यात लेखिका जेके रोलिङको ‘ह्यारी पोटर’का सातवटा उपन्यासलाई आधार मानेर अघि बढ्ने बताइएको छ ।
यसअघि नै सात वटा किताबमा आधारित आठ वटा फिल्म बजारमा आइसकेको छ । ती फिल्मले संसारभरमा ७.७ अर्ब डलर बराबरको व्यापार गर्न सफल भएको थियो ।
एचबीओ म्याक्स नेटफ्लिक्सजस्तै स्ट्रिमिङ एप हो । यो फिल्मी बजारमा निकै ढिला गरी प्रवेश गरेकाले अरुभन्दा निकै पछाडि परेको पेर्रेटेले स्वीकार गरेका छन् । तर उनले भने, ‘यो प्लेटफर्म सबैलाई सबै सामग्री दिने होइन, बरु वयस्क र परिवारलाई लक्षित उच्चस्तरीय सामग्री दिन केन्द्रित हुँदैछ र यसले नै अरु कम्पनीभन्दा फरक रुपमा उभ्याउने छ ।’
‘ग्राहकहरूले ‘अझ धेरै सामग्री चाहिन्छ’ भनेर भनिरहेका छन् भन्ने लागिरहेको छैन । बरु दर्शकले ‘हामीलाई अझ राम्रो सामग्री चाहिएको छ’ भनेर चाहिँ आफ्नो माग राखिरहेका छन्,’ उनले भने ।
बजार विश्लेषक एन्ड्रयु जर्गियु भन्छन्, ‘नयाँ सेवाले टीएनटी स्पोर्ट थपिएपछि अझ मजबुत हुनेछ । बजारमा आएको पहिलो दिनदेखि नै लाखौं ग्राहक आकर्षित हुनेमा म विश्वस्त छु ।’
यसरी, ह्यारी पोटरको टिभी संस्करण एउटा सिरिज मात्र नभई एचबीओका लागि दीर्घकालीन रणनीतिक दाउ बन्न पुगेको छ । यसले प्रतिस्पर्धी स्ट्रिमिङ बजारमा आफ्नो स्थान मजबुत बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्