प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सांसद पद र प्रधानमन्त्रीको शपथ लिनुअघि जारी गरेको म्युजिक भिडियोले एक दिनमै ३६ लाख भ्यूज पाएको छ ।
तीन मिनेट ४१ सेकेन्डको जय महाकाली शीर्षकको यो मूलतः ¥याप गीत हो । गीतमा पूरापूर जोश देखिन्छ । गीतको भिडियोमा प्रयोग गरिएका दृश्यहरू उनी मेचीमहाकाली चुनावी अभियानका बेला खिचिएका दृश्यहरू समावेश गरिएका छन् ।
गीतको अन्तिममा बालेनले एउटा ब्यानर देखाउँछन्, जसमा लेखिएको छ– तपाईं अर्थात् जनताहरूलाई बधाई, तपाईंहरूको जीत भएको छ ।
यो गीतको -याप, शब्द तथा संगीत बालेनले नै दिएका छन् । गीतमा सुमधुर बाँसुरी बजेको छ, जसलाई किरण बरालले फुकेका छन् । एटफोज स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई फोसिल र क्रोनिक बिट्जले उत्पादन गरेका हुन् । नेपसेकमा रेकर्ड गरिएको यो भिडियोका सम्पादक विकेश मगर हुन् ।
गीत रिलिज हुनेबित्तिकै ४३ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । जसमा अधिकांशले गीतको ऊर्जाको प्रशंसा गरेका छन् ।
रियाशा दाहाल लेख्छिन्, ‘यो गीत केवल संगीत मात्र होइन, जनताको मन, विश्वास र आशाको आवाज हो । ‘जय महाकाली’ शब्दले यहाँ शक्ति, साहस र अन्यायविरुद्ध उभिने संकल्पको प्रतीक बनेर आएको छ, जुन सीधै जनताको भावनासँग जोडिन्छ । यो प्रस्तुति हेर्दा लाग्छ, उनीहरू बालेनसँग भरोसा राखिरहेका छन् । त्यो भरोसा सजिलै बन्दैन र त्यही भरोसा जोगाउनु नै उनको सबैभन्दा ठूलो जिम्मेवारी हो । कामना छ, तपाईं यही जनविश्वासलाई शक्ति बनाएर, स्पष्टता, दृढता र इमान्दारितासँग अगाडि बढ्नुहोस् । इतिहास शब्दले होइन, कामले लेखिन्छ ।’
यसैगरी सम्राटले लेखेका छन्, ‘अबको एक सय वर्षपछि हामी त रहँदैनौँ तर यो परिवर्तनको सुरुवात नेपालले याद राख्नेछ ।’
यस्तै सुमितले संसारको एउटा कुनाबाट भिडियो हेर्दैगर्दा आशा र सकारात्मक ऊर्जा आफूले महसूस गरेको लेखेका छन् । गीतमा अभिव्यक्त भावनाझैँ उनले काम गर्न सकून् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
आइगो३२९८ अकाउन्टबाट लेखिएको छ, ‘देश बने मेरो आयु पनि तिमीलाई बालेन ।’ यसैगरी ओजीद नथिङ म्यान अकाउन्टबाट लेख्छन्, ‘बालेन देश बनाउन आको छ । नेपालीहरू परिवर्तनसँगै आफू पनि परिवर्तित हुन्, सभ्य हुन्, असल हुन्, सही हुन्, दयावीर हुन्, सहयोगी हुन् । सबैलाई बराबरी गर्ने हुन तयार छन् त ? गुणवान् नेता मात्रै बदलेर देश बदलिँदैन, जनतामा पनि चेतना हुन उत्तिकै जरुरी छ ।’
यस्तै जस्ट पर्फेक्ट टक नामबाट प्रतिक्रिया लेखिएको छ, ‘अब इतिहास बदलिन्छ, अब नयाँ इतिहास लेखिन्छ । अब नेपाली भन्न हिम्मत आउनेछ, अब म नेपाल देशको भन्न मन लाग्नेछ ।’
सचेत गराउँदै कमल चन्द लेख्छन्, ‘तिमीले मन भाँच्यौ भने नेपालले कसैलाई कहिल्यै विश्वास गर्ने छैन ।’
नवनियुक्त ¥यापर प्रधानमन्त्री आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका कान्छा छोरा हुन् । उनको जन्म २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुख्र्यौली घर महोत्तरीको एकडारा हो ।
शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए । शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवद्र्धनका लागि नेवा संरचनाको संरक्षणमा महŒवपूर्ण योगदान दिए ।
दुई दर्जनभन्दा बढी ¥याप गीत लेखेका शाहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् । उनका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।
तीन महिनाअघि मात्र ‘झरीपछिको इन्द्रेणी’ फिल्मका लागि उनले लेखेको गीतमा ८७ लाख भ्यूज छ । त्यस्तै उनको च्यानलमा रिलिज भएको सो फिल्मलाई ४१ लाख भ्यूज पाएको छ ।