नेभिगेशन
अर्थतन्त्र

हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन

काठमाडौं । मकवानपुरस्थित हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनपछि बन्द रहेको सरकारी स्वामित्वको यो सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको हो । उद्योगले अहिले धमाधम सिमेन्ट उत्पादन गरिरहेको सूचना अधिकारी हरेराम आचार्यले बताए । उनका अनुसार उत्पादित सिमेन्ट बजारमा पठाउने तयारी पनि भइरहेको छ । 
‘उद्योगले क्लिंकर उत्पादनसँगै सिमेन्ट उत्पादन पनि गर्न थालिसकेको छ । अब अवरोध भएन भने उत्पादन नियमित ढंगले नै हुनेछ र बजारमा पनि जानेछ,’ उनले भने । उनले अहिले उद्योग सञ्चालनका लागि दुई सातासम्म पुग्ने कच्चा पदार्थ सञ्चित रहेको र थप कच्च पदार्थ आयात गर्नका लागि प्रक्रियागत कार्य अगाडि बढाइएको पनि उनले बताए । 
यो उद्योगको सिमेन्ट उत्पादन क्षमता ८ सय क्विन्टलसम्म छ । अहिलेको अवस्थामा दैनिक ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको आचार्यले जानकारी दिए । 
हेटौंडाको लामसुरेमा २०४३ सालदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो उद्योग पटकपटक बन्द हुँदै पुनः सञ्चालनमा आउने गरेको छ । सञ्चालन खर्चको ठूलो भार, पुराना उपकरण तथा मेसिनरी सामान नफेरिँदाको समस्या तथा समय समयमा हुने कच्चा पदार्थको अभावले यो सिमेन्ट उद्योग बढी समय बन्द नै हुने गरेको छ । उद्योगलाई आवश्यक कर्मचारीमात्रै राखेर सञ्चालन गर्नुभन्दा पनि विगतमा दलहरूले कार्यकर्ता भर्ती केन्द्र जस्तो बनाएकाले पनि यो उद्योगले सधैं आर्थिक संकट झेल्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्