नेभिगेशन
अर्थतन्त्र

औषधिको बजार मापदण्डमा एकरुपताको माग

काठमाडौं । व्यवसायीहरूले औषधिको गुणस्तर, मूल्य र मापदण्डको एकरुपता कायम गर्न सरकारसँग माग गरेका छन् । नयाँ सरकारको ध्यानाकर्षण गराउँदै औषधि व्यवसायको क्षेत्रमा रहेको समस्याप्रति विगतका सरकार गम्भीर नभएको गुनासो गरेका छन् । शनिबार नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्लाको छैटांै साधारणसभामा सहभागी औषधि व्यवसायीहरुले औषधिको बजारको समस्यालाई निदानमा सहजीकरण गर्नुपर्ने माग गर्दै आयातमा रहेको समस्या तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराए ।
औषधिको मूल्य, व्यवस्थापन र बजारको मापदण्डलाई प्रभावकारी बनाउनुपर्ने उनीहरुको जिकिर थियो । डलरको मूल्यमा भएको बढोत्तरी र इन्धनको बढ्दो संकटको कारण अहिले औषधि आयातमा समस्या आएको हुँदा सरकारले औषधिको आयात र मूल्यमा रहेको समस्या समाधान गर्नु पर्नेमा व्यवसायीहरूले जोड दिए । 
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि बजारमा रहेको समस्या समाधान गर्न विभाग गम्भीर रहेको बताउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउने आश्वासन दिए । उनले आफ्नो सेवालाई जिम्मेवारपूर्ण बनाउनुको साथै व्यावसायिक निष्ठा अनुरुप काम गर्न औषधि व्यवसायीलाई आग्रह गरे । 


यस्तै, औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र शर्माले सरकारी निकायहरूको ढिलासुस्तिको कारण औषधि व्यवसायीहरु समस्यामा परेको गुनासो गरे । व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष सम्राटमान जोशीले औषधि व्यवसायको क्षेत्रमा रहेको समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्ने बताए । नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि बजारमा एमआरपी, गुणस्तर र कमिसनको विषयमा समस्या रहेकोले त्यसको लागि सरकार गम्भीर हुनुपर्ने बताए । नेपाल औषधि व्यवसायी संघ ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जनले  बजारलाई मर्यादित बनाउन सरकार र निजी क्षेत्र दुवै जिम्मेवार भए मात्र सेवामुखी हुन सक्ने बताए । कार्यक्रममा औषधि व्यवसायमा आबद्ध व्यवसायीहरूले बजारलाई व्यवस्थित र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए । 
कार्यक्रममा व्यवसायीहरुले म्याद गुज्रेका औषधिको व्यवस्थापन र गुणस्तर मापदण्ड र मूल्यको एकरुपता लगायतका विषयमा सरकारले स्पष्ट नीति र योजना ल्याउन माग गरेका छन् । बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा र व्यावसायिक असुरक्षा लगायतका समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्