नेभिगेशन
मनोरञ्जन

अस्कर विजेता ‘विदेशी एजेन्ट’ घोषित

रुसले ओस्कार विजेता वृत्तचित्र ‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’का मुख्य पात्र तथा शिक्षकलाई ‘विदेशी एजेन्ट’ घोषणा गरेको छ ।
अमेरिकी निर्देशक डेभिड बोरेनस्टाइनले निर्देशन गरेको सो वृत्तचित्रमा मुख्य पात्र रहेका पावेल तालान्किनलाई रुसले ‘विदेशी एजेन्ट’ घोषित गरेको हो । पावेल रुसको मध्य–पश्चिममा रहेको चेल्याबिन्स्क क्षेत्रको एउटा विद्यालयमा काम गर्थे । उनले दुई वर्ष आफू काम गर्ने विद्यालयका गतिविधिहरुलाई भिडियोमा रेकर्ड गर्ने गरेका थिए । 
आफूलाई आवश्यक पर्ने सबैजसो भिडियोहरु रेकर्ड गरिसकेपछि पावेल सन् २०२४ मा रुसबाट भागेका थिए । भिडियोलाई पछि उनले गोप्य रुपमा विदेश लगेको रुसको आरोप छ ।
बिहीबार रुसी अदालतले यो वृत्तचित्रले रुसी सरकार र युक्रेन युद्धप्रति ‘नकारात्मक धारणा’ फैलाएको भन्दै आफ्नो क्षेत्राधिकार पर्ने धेरै स्ट्रिमिङ प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको छ ।
फेब्रुअरी २४, २०२२ मा रुसले युक्रेनमा पूर्ण रूपमा सैन्य आक्रमण सुरु गरेदेखि नै रुसी अधिकारीहरूले युद्धको विरोध गर्नेहरूलाई दबाउने र रुसी नागरिकहरू माझ युद्धको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
शुक्रबार न्याय मन्त्रालयले सार्वजनिक गरेको विदेशी एजेन्टहरूको सूचीमा यी शिक्षक पावेल तालान्किनको नामसमेत समावेश गरिएको छ ।
फिल्मको नाम नलिई जारी गरिएको विज्ञप्तिमा पावेल तालान्किनले रुसी नेतृत्वका बारेमा ‘गलत सूचना फैलाएको’ र युक्रेनमा भइरहेको ‘विशेष सैन्य अपरेशन’विरुद्ध बोलेको आरोप लगाइएको छ । रुसले युक्रेन युद्धलाई आधिकारिक रूपमा यही नाम दिने गरेको छ ।
रुसमा ‘विदेशी एजेन्ट’को सूचीमा परेका व्यक्तिहरूले कडा प्रशासनिक नियमहरू र आम्दानीमा प्रतिबन्ध भोग्नुपर्ने हुन्छ । उनीहरूले सामाजिक सञ्जाल वा अन्य कुनै पनि प्रकाशनमा आफू ‘विदेशी एजेन्ट’ भएको लेबल अनिवार्य रूपमा राख्नुपर्छ ।
तालान्किन र बोरेनस्टाइनको यो वृत्तचित्रले विद्यार्थीहरूलाई कसरी युद्ध समर्थक सन्देशहरू दिइन्छ भन्ने देखाउन पावेलले दुई वर्षसम्म विद्यालयमा खिचेका दृश्यहरू प्रयोग गरेको छ ।
मार्च १५, २०२६ मा अस्कार अवार्ड ग्रहण गर्ने क्रममा पावेलले भनेका थिए, ‘चार वर्षदेखि हामी एउटा महŒवपूर्ण इच्छा पूरा होस् भनेर आकाशमा खसिरहेको तारा हेरिरहेका छौँ, तर कतिपय देशहरूमा खसिरहेको ताराको सट्टा बम र ड्रोनहरू खसिरहेका छन् । हाम्रो भविष्य र हाम्रा छोराछोरीको नाममा, अहिले नै यी सबै युद्धहरू रोक्नुहोस् ।’
यो वृत्तचित्र रुसमा पुटिन र युद्धको विरोध गर्नेहरूका बीचमा पनि विवादित बनेको छ । कतिपयले पावेलले आफ्नो गोप्य परियोजनाका लागि सहकर्मी र बालबालिकाहरूको अनुमति बिना भिडियो खिचेको भन्दै आलोचना गरेका छन् ।
पावेलले भने यो फिल्म ‘एउटा सिङ्गो पुस्ता कसरी क्रोधी र आक्रामक बन्यो’ भन्ने कुरा पछिल्लो पुस्तालाई देखाउने एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै आफ्नो कामको बचाउ गरेका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अस्कर अवार्डपछि आफूले यो फिल्म नहेरेको र यसबारे कुनै टिप्पणी गर्न नसक्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्