नेभिगेशन
राजनीति

‘सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलत

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी  पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले शनिबार विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गत भदौ २५ गते नै कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको स्मरण गराएका छन् ।
यसैगरी भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन’ आग्रह गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
यही चैत ६ देखि ८ गतेसम्म बसेको कांग्रेसको बैठकले गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । साथै कांग्रेसले भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुनः आग्रह गरेको जनाएको छ ।
कांग्रेसले सरकारले ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने, तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने’ भन्ने निर्णय गर्नु र पक्राउ गर्नुले भदौ २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ भएको भनी टिप्पणी गरेको छ ।
यसैगरी कांग्रेसले भदौ २३ र २४ का घटनालाई निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुपर्ने माग गर्दै त्यसमा आफ्नो साथ रहने समेत जनाएको छ । ‘दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ, त्यसमा हाम्रो साथ रहन्छ । तर, त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रियाबमोजिम हुनुपर्छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ,’ विज्ञप्तिमा भनिएको छ । 
यसैबीच कांग्रेस नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका नाममा छुट्टै विज्ञप्ति जारी गरी पक्राउ प्रकरणप्रति आपत्ति प्रकट गरेका छन् । उनले संवैधानिक, कानुनी र राजनीतिक प्रतिवाद गरिने उल्लेख गरेका छन् ।
यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’ भएको बताएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज एक विज्ञप्ति जारी गरी यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नाका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको उल्लेख गरेका छन् ।

ओली र लेखक पक्राउ प्रतिशोध होइनः गृहमन्त्री 

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताए । 
गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारे ।
‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो,’ मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् ।
उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्