नेभिगेशन
राजनीति

कांग्रेस संस्थापन कडा बन्दै

पूर्णबहादुरमाथि कारवाही, सांसदलाई ‘राइट टू रिकल’

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र इतरपक्षको गतिविधि नियन्त्रण गर्न निर्मम बन्ने तयारी गरेको छ । विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको केन्द्रीय समितिले समानान्तर गतिविधि नरोकिएपछि यस्तो तयारी गरेको हो । 
पुस अन्तिम साता विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा बनेको समितिलाई अवैध भन्दै सर्वोच्च अदालत पुगेको शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गर्दै आएको छ । शनिबार मात्रै पनि पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री कांग्रेस नेता रमेश लेखक पक्राउबारे कार्यवाहक सभापतिको हैसियतमा भन्दै पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका थिए । पार्टी केन्द्रीय समितिका तर्फबाट प्रवक्ता देवराज चालिसेको वक्तव्य आएको थियो ।
त्यस्तै, शेरबहादुर देउवा र शेखर कोइराला पक्षले पार्टीभित्र र संसदीय दलमा पनि अलग मोर्चा कस्ने तयारीपछि त्यसलाई रोक्न कांग्रेस संस्थापन आवश्यक परे कारवाहीसम्म गर्ने तयारीमा पुगेको छ । संसदीय दलमा पनि चुनौती आउन सक्ने देखिएपछि समानुपातिक सांसदहरुलाई ‘राइट टू रिकल’ को व्यवस्थाबारे सम्झाइएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा पार्टीभित्र भइरहेको समानान्तर गतिविधिबारे कुरा उठेको एक पदाधिकारीले बताए । पार्टीको हुँदै नभएको ‘कार्यवाहक सभापति’ पद उल्लेख गरेर कांग्रेसको नाममा लेटरप्याड दुरुपयोग गरेर खड्काले विज्ञप्ति जारी गरेको भन्दै उनलाई कारवाही गर्नुपर्नेमा एकमत देखिएको पनि उनले बताए ।
यसैबिच कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान भएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय अनुशासन समितिको जरूरी बैठक चैत्र १८ गते बुधबार बस्नेछ । उक्त बैठकले पार्टी विधान विपरीतको गतिविधि गरेको भन्दै खड्कालाई अनुशासनको कारवाही गर्नसक्ने एक पदाधिकारीले बताए । ‘पार्टीबाट निष्कासन वा उनको सदस्यता नवीकरण नगर्ने मध्ये कुनै एक निर्णय हुनसक्छ,’ ती पदाधिकारीले अहिले छलफल चलिरहेको बताए । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात भएको भन्दै जिल्ला जिल्लाबाट अनुशासन समितिमा उजुरीहरू पनि आएका छन् । संस्थापन पक्षले देउवा पक्षले अन्तर्घात गरेको २१ स्थानमा थोरै मतले उम्मेदवार पराजित भएको निष्कर्ष निकालेको थियो । अनुशासन समितिले अन्तर्घातका उजुरीमा पनि कारवाही अगाडि बढाउने तयारी गरेको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ को निर्वाचनमा भएको अन्तर्घात र समानन्तर गतिविधिबारे बैठकमा छलफल हुने बताए । ‘हामी नियमित छलफल गरिरहेकै छौं । १८ गते औपचारिक बैठक बसेर निर्वाचनमा अन्तर्घात गर्ने र अहिले पार्टीको विधान र विधिभन्दा बाहिर रहेको पगरी जिम्मा लिएको छलफल हुन्छ,’ गुरुङले भने।
सांसदलाई ‘राइट टू रिकल’
कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला ‘फिर्ता बोलाउन सक्ने’ (राइट टू रिकल)  को व्यवस्थाबारे सम्झाइएको छ । पार्टीको विधानमै यस्तो व्यवस्था समावेश गरेकोबारे नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा जानकारी गराइएको हो । 

congress-meeting-01-1774825964.jpg

उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई अभिमुखीकरणका क्रममा शनिबार पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने विधानको नयाँ प्रावधानबारे जानकारी गराएका हुन् । गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट परिमार्जन भएको विधानको दफा ४० मा यस्तो व्यवस्था रहेको भन्दै उपसभापति शर्माले सो दफामा रहेका ४ उपदफाबारे जानकारी गराएको एक सांसदले बताए । 
पार्टीका तर्फबाट उम्मेदवार भई समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यलाई संसदीय जिम्मेवारीलाई प्रभावकारी र जबाफदेही बनाउन यस्तो प्रावधान राखिएको कांग्रेसको भनाइ छ । 
पूर्वसभापति देउवा र नेता शेखर कोइराला पक्षले संसदीय दलमा संस्थापन पक्षलाई दलको नेता नदिने गृहकार्य गरिररहेको छ । प्रत्यक्ष १सय ६५ सिटमा सभापति थापा भएपछि टिकट वितरण गरेका थिए भने समानुपातिकतर्फ देउवा सभापति हुँदा नै नाम पठाइएको थियो । 
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो । कांग्रेसले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक चयन गरेको छैन । संसदीय दलमा देउवा र कोइराला पक्ष भनेर चिनिएका सांसदहरु संस्थापन पक्षका भन्दा धेरै भएको दाबी गरिएको छ । इतर पक्षले संसदीय दलमा आफ्नो ढंगले तयारी गर्न सोमबार पार्टीका सांसदहरुको बैठक बोलाएको छ । उक्त भेलामा सांसदहरुलाई रोक्नका लागि पनि संस्थापन पक्षले ‘राइट टू रिकल’को व्यवस्थालाई अभिमुखीकरणमै जोड दिएर उठाएको छ । 
पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा समानुपातिक सांसद फिर्ता बोलाउनसक्ने विधानको व्यवस्थाका कारण देउवा र कोइराला पक्षका समानुपातिक सांसद हच्किएका छन् । ‘सोमबार हाम्रै समूहका नेताहरुले बोलाउनुभएको छ । यता सांसद फिर्ता बोलाउने कुरा छ फेरि । जाने कि नजाने निर्णय गरिसकेको छैन,’ इतरपक्षमा रहेका समानुपातिकतर्फका एक सांसदले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्