नेभिगेशन
राजनीति

संसद् बैठक बिहीबारदेखि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आगामी बिहीबार चैत १९ गते  दिउँसो २ बजेका लागि आह्वान गरेका हुन् । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।  राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलबाट संविधानको धारा ९३ को उपधारा १ अनुसार बैठक आह्वान भएको हो । अब शुरु हुने अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते नेपालमा नयाँ आर्थिक वर्षको बजेट ल्याउने व्यवस्था छ । 
संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख, ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’ यो व्यवस्था अनुसार चैत १९ गते पहिलो बैठक बस्ने भएपछि वैशाख पहिलो साताभित्र सभामुख र उपसभामुख चयन भइसक्नेछ । 
संविधानमा सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिंगको हुन नहुने उल्लेख छ । प्रतिनिधिसभामा रास्वपाको बहुमत छ । सभामुख रास्वपाबाटै बन्ने करिब निश्चित देखिँदा उपसभामुख भने अन्य दलबाट बन्नेछन् । प्रतिनिधिसभामा हाल ६ दल मात्रै छन् । सभामुख रास्वपाले राखेमा उपसभामुख संसदमा रहेका अरु दल वा स्वतन्त्र सांसद पनि बन्न सक्छन् । 
प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् । म्याग्दीबाट महावीर पुन स्वतन्त्र सांसद निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्