नेभिगेशन
अर्थतन्त्र

सन नेपाल लाइफका सीइओ अर्याल पक्राउ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार काठमाडौंको पुतलीसडकस्थित न्यूप्लाजाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
सीआइबीका अनुसार अर्यालमाथि धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । ब्यूरोका प्रमुख मनोज केसीले कर्मचारीलाई छुट्याइएको शेयर बाँडफाँड प्रक्रियामा कागजात किर्ते गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि पक्राउ गरिएको जानकारी दिए । यसअघि पनि यो विषयमा उजुरी परेपछि सीआइबीले झण्डै डेढ वर्षदेखि अनुसन्धान गर्दै आएको थियो ।
अनुसन्धानका क्रममा कम्पनीले कर्मचारीका लागि छुट्याएको करिब ४ लाख ८० हजार कित्ता शेयर वितरणमा अनियमितता भएको आरोप लागेको छ । आरोप अनुसार, कर्मचारीका लागि छुट्याइएको सेयरमध्ये ठूलो हिस्सा (करिब ८० प्रतिशत) स्वयं सीईओ अर्यालले लिएको विषय बाहिर आएको थियो ।
सीआइबीका अनुसार विभिन्न नियामक निकायमा पेस गरिएका सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिबीच विवरण नमिलेको पाइएपछि थप शंका भएको थियो । यही आधारमा उनलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुरमा पक्राउ गरिएको हो ।
यही प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत यसअघि हस्तक्षेप गर्दै कम्पनीलाई सेयर वितरण प्रक्रिया पारदर्शी बनाउन र पुनः बाँडफाँड गर्न निर्देशन दिएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार, कम्पनीहरूले कुल आईपीओको ५ प्रतिशतसम्म सेयर आफ्ना स्थायी कर्मचारीका लागि छुट्याउनुपर्ने व्यवस्था छ, तर भित्री वितरणको स्पष्ट मापदण्ड नभएको कमजोरीको फाइदा उठाइएको आशंका गरिएको छ ।
यसअघि सीआइबीमा बयान दिने क्रममा अर्यालले शेयर बाँडफाँडमा त्रुटि भएको स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । तर, पुनः कागजातमा असंगति देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल अर्यालमाथि थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्