नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

कांग्रेसमा चिराः पुनर्संरचनाको अवसर

नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक वाहक दल, यतिबेला गम्भीर आन्तरिक द्वन्द्वको चपेटामा छ । पछिल्ला राजनीतिक घटनाक्रमहरू विशेष महाधिवेशन, समानान्तर गतिविधि, नेतृत्वबीचको अविश्वास र संगठनात्मक अन्योलले पार्टीभित्र गहिरो चिरा परेको संकेत दिएका छन् । निवर्तमान सभापति पक्ष र वर्तमान नेतृत्वबीच देखिएको ध्रुवीकरणले केवल पार्टीको आन्तरिक सन्तुलन मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासलाई समेत प्रभावित पार्ने जोखिम बढाएको छ ।
यद्यपि इतिहासले देखाएको छ, यस्ता संकटहरू केवल विघटनका संकेत होइनन्; सही ढंगले व्यवस्थापन गर्न सकिएमा यी पुनर्संरचना र सुदृढीकरणका अवसर पनि बन्न सक्छन् । प्रश्न कांग्रेस चिरा परेको चिन्तामा केन्द्रित हुनुभन्दा त्यो चिरालाई कसरी सम्बोधन गरिन्छ भन्ने केन्द्रित हुनुपर्ने देखिन्छ ।
सबैभन्दा पहिले कांग्रेसले वैधताको प्रश्नको समाधान गर्नुपर्ने देखिन्छ । विशेष महाधिवेशनबाट आएको नेतृत्व र १४औं महाधिवेशनबाट निर्वाचित संरचनाबीचको द्वन्द्वले संगठनलाई द्वैध अवस्थामा पु¥याएको छ । यस्तो अवस्थामा न्यायिक प्रक्रियाको अन्तिम निर्णय पर्खनु एक विकल्प हुन सक्छ तर राजनीतिक दल केवल कानूनी संरचनामा चल्नुपर्छ भन्ने पनि होइन । दल आफैंमा विश्वास, सहमति र साझा उद्देश्यमा आधारित संस्था भएकाले दुवै पक्षले साझा मिलन विन्दु खोज्नुपर्ने देखिन्छ । उदाहरणका लागि, अन्तरिम सहमतिको आधारमा संयुक्त कार्यसमिति वा महाधिवेशन आयोजक समिति गठन गरेर संस्थागत एकता कायम गर्न सकिन्छ ।
साथै, कांग्रेसले आन्तरिक लोकतन्त्रलाई केवल नारा होइन, व्यवहारमा उतार्नुपर्ने बेला आएको छ । पार्टीभित्र नेतृत्व चयन, निर्णय प्रक्रिया, उम्मेदवारी वितरण र नीति निर्माणमा पारदर्शिता र सहभागिताको अभावले नै आजको विवादलाई जन्म दिएको हो । यदि केन्द्रीय नेतृत्व केही सीमित व्यक्तिको वरिपरि केन्द्रित भइरहन्छ भने असन्तुष्टि स्वाभाविकरूपमा बढ्छ । त्यसैले वडादेखि केन्द्रसम्मका संरचनाहरूलाई सक्रिय बनाउँदै नियमित बहस, मतभेदको संस्थागत व्यवस्थापन र अल्पमतको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ ।
हाल देखिएको समानान्तर गतिविधिलाई नकारात्मक दृष्टिकोणबाट होइन संवादका माध्यमबाट समाधान गर्नुपर्छ । शीर्ष नेताहरूबीच नियमित संवाद संयन्त्र स्थापना गर्नुपर्छ, जहाँ विवादित विषयहरू खुलारूपमा छलफल गरिन्छन् । पार्टीले आफ्नो वैचारिक स्पष्टता पुनः स्थापित गर्नुपर्ने आवश्यकता छ । कांग्रेसको पहिचान लोकतान्त्रिक मूल्य, उदारवाद र सामाजिक न्यायको संयोजनमा आधारित थियो । तर पछिल्ला वर्षहरूमा सत्ता समीकरण, अवसरवाद र रणनीतिक अस्पष्टताले यसको वैचारिक धरातल कमजोर बनाएको छ । जब दलभित्र स्पष्ट दिशा हुँदैन, तब व्यक्तिकेन्द्रित राजनीति हावी हुन्छ । त्यसैले कांग्रेसले आफ्नो मूल विचार– लोकतन्त्र, विधिको शासन, मानव अधिकार र समावेशी विकासलाई पुनः परिभाषित गर्दै व्यवहारमा लागू गर्नुपर्छ ।
पुस्तान्तरणको प्रश्नलाई संवेदनशील तर निर्णायकरूपमा सम्बोधन गर्न पनि अबेला गर्नुहुँदैन । युवा नेतृत्वको उदय र पुराना नेतृत्वको अनुभवबीच सन्तुलन कायम गर्न नसक्दा नै अहिलेको ध्रुवीकरण तीव्र बनेको हो । युवापुस्तालाई केवल प्रतीकात्मक स्थान दिनु पर्याप्त हुँदैन; उनीहरूलाई निर्णय प्रक्रियामा वास्तविक भूमिका दिनुपर्छ । साथै, अनुभवी नेताहरूले पनि मार्गदर्शकको भूमिका स्वीकार्दै संगठनलाई सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्छ । साथै, पार्टी अनुशासनलाई निष्पक्ष र सन्तुलितरूपमा लागू गर्नुपर्छ । अहिले एक पक्षले अर्को पक्षलाई चेतावनी दिने, सदस्यता नवीकरण रोक्नेजस्ता धम्कीले संगठनात्मक वातावरण विषाक्त बनाउँछ । अनुशासन समिति निष्पक्ष, पारदर्शी र सबै पक्षलाई स्वीकार्य हुनुपर्छ । अन्यथा, अनुशासनको नाममा प्रतिशोधको राजनीति सुरु हुन्छ ।
कांग्रेसले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउनुको विकल्प छैन । आन्तरिक विवादमा अल्झिएको दल जनताका मुद्दाबाट टाढा जान्छ । अहिलेको अवस्थामा कांग्रेसले संसद् र सडक दुवै ठाउँमा आफ्नो प्रभावकारी उपस्थिति देखाउनुपर्ने बेला छ । कानून निर्माण, सरकारको निगरानी र जनताका समस्याहरूको समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने पनि बेला छ । यदि दलभित्रको विवादले जनताको अपेक्षालाई ओझेलमा पार्छ भने त्यसको मूल्य ढिलोचाँडो चुकाउनुपर्ने हुन्छ । कांग्रेसले आफूलाई राजनीतिक दलमा सीमित नपारी नेपालको लोकतान्त्रिक इतिहासको महŒवपूर्ण संस्थागत आधार मान्ने र जनतालाई त्यही भन्ने हो भने यसको कमजोरीले सम्पूर्ण लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँछ । त्यसैले व्यक्तिगत अहंकार, गुटीय स्वार्थ र क्षणिक राजनीतिक लाभभन्दा माथि उठेर सबल लोकतन्त्रको साझा लक्ष्यलाई प्राथमिकता दिनुपर्ने समय आएको छ । आजको चिरा भोलिको विभाजन बन्न सक्छ, तर सही नेतृत्व र दूरदर्शिताले यही चिरालाई पुनर्जागरणको आधार पनि बनाउन सक्छ । यो संकटलाई विघटनको मार्गमा लैजाने कि रूपान्तरणको अवसरका रूपमा उपयोग गर्ने निर्णय गर्ने काम कांग्रेसजनकै हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्