काठमाडौं । अर्थमन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार एकैदिन यी उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग एवम् प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरेको हो ।
मन्त्रालयले पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीको नीतिअनुसार उपसचिवहरूको मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार गरेको मन्त्रीस्तरीय निर्णय बमोजिम उनीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने तथा मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन गरिएको हो ।
मेरिटको अन्तिममा पर्ने उपसचिवले सबैले छाडेर बाँकी रहेको ठाउँमा जानुपर्ने गरी सरुवा गरिएको छ । मन्त्रालयका अनुसार अब आफैंले रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन अब्बल र बढी सक्षम हुनुपर्ने देखिएको छ । सरुवा हुनेमा रामराज प्रसाद चौरसिया, गोपालप्रसाद भट्टराई, प्रमोद दास, कृष्णप्रसाद न्यौपाने, केशव रघुवंशी हिमलाल शर्मा छन् । चौरसियालाई सुनसरी भन्सार कार्यालय, भट्टराईलाई भन्सार विभाग, दासलाई सिरहा भन्सार कार्यालय, न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय, कृष्णनगर, रघुवंशी र शर्मालाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ ।
यस्तै, चक्रप्रसाद ढुंगानालाई आन्तरिक राजस्व कार्यालय, सुर्खेत, शर्मिला सुवेदी, सुरेन्द्र पाण्डेय र माया पन्थीलाई भन्सार विभाग तथा हरिप्रसाद भण्डारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, जागेश्वर शर्मालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार धनिश्वर अर्याललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, सतेन्द्रमोहन गुरुङलाई सम्पत्ति शुद्धीकरण विभाग, सूर्यबहादुर कुँवरलाई आन्तरिक राजस्व कार्यालय दमक, सुन्दरश्याम ठाकुरलाई आन्तरिक राजस्व कार्यालय, बर्दिबास, खगेन्द्र सापकोटालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, सुवर्ण कोइराला र दीपेन्द्रकुमार झालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, वाग्मती प्रदेश तथा गगनबहादुर शाहीलाई आन्तरिक राजस्व कार्यालय डडेलधुरा, ईश्वरी खत्री र बामदेव पन्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, अम्बिकाप्रसाद फुयाललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, उर्मिला कँडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, युगल किशोर गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिम प्रदेश, मनोज गिरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश, मीनु वसन्ती कपालीलाई गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, कोपिला आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, अम्बिकादेवी सुवेदीलाई कञ्चनपुर भन्सार कार्यालय र विदुर चुडाललाई मुस्ताङ भन्सार कार्यालयमा सरुवा गरिएको छ ।