नेभिगेशन
अर्थतन्त्र
निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री वाग्ले

‘सरकार सहयात्री बनेर काम गर्छ, घुस खुवाउनुपर्दैन’

नीतिगत सुधार जारी रहने, लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब नीतिगत काम गराउनका लागि कर्मचारीलाई घुस खुवाउन नपर्ने तथा थुनिने अवस्था नआउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको सोमबारको भेटमा उनले अब सरकारले निजी क्षेत्रसँग सहयात्री भएर काम गर्ने र अब काम गराउनकै लागि घुस खुवाउनुपर्ने तथा प्रशासनिक झञ्झटका लागि लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् । 
महासंघ प्रतिनिधिसँगको भेटमा मन्त्री वाग्लेले आफू घुस खान नभई देशको अर्थतन्त्रलाई सही दिशामा मोडेर नयाँ गति दिनका लागि आएको बताए । ‘म घुस खान आएको होइन र कसैलाई खान पनि घुस खान दिन्नँ । निजी क्षेत्रले ढुक्क भएर लगानी गर्दा हुन्छ । अब दुःख पाउने दिन सकिए, हामी तपाईंहरूको सहयात्री भएर काम गर्छौं,’ उनले भने । उनले देशमा रोजगारी सिर्जना गर्न निजी क्षेत्रको ठूलो योगदान रहेको बताउँदै ढुक्क भएर लगानी बढाउन आग्रह समेत गरे । निजी क्षेत्रको लगानी प्रवर्धन गर्नकै लागि काम नलाग्ने ऐन कानून खारेज गर्नेदेखि लगानीमैत्री वातावरण तयार गर्न सबै ढंगले नीतिगत सुधार गर्ने बताउँदै उनले अब आर्थिक बेइमानीका मुद्दामा उद्योगी व्यवसायीलाई थुन्ने कार्यको अन्त्य गरी आर्थिक जरिवाना गर्ने नीति सरकारले लिने स्पष्ट पारे । 
‘सरकारले अब आर्थिक बेइमानी देखिएमा त्यसमा आर्थिक जरिवानाको बाटो अपनाउने छ, सानातिना कुरामा उद्योगी व्यवसायीले थुनिनुपर्दैन,’ उनले भने । 
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका सुझावहरूलाई आफूले सकारात्मकरूपमा लिएको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार, नीतिगत स्पष्टता र कार्यान्वयनमा प्रभावकारिता ल्याउन सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले उच्चस्तरिय आयोगको सिफारिसकै आधारमा आफूले पदभार ग्रहण गर्नासाथ विभिन्न १५ वटा कानून खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको र १०० दिने कार्यक्रमममा पनि सुशासन र नागरिक सेवालाई सहज र सरल बनाउनेगरी कार्यक्रम ल्याएको बताए । उनले एलडीसी ग्य्राजुएसनको समयसीमा सार्न पहल गर्नुपर्नेमा आफू सकारात्मक रहेको तर, त्यो समयसम्म स्तरोन्नतिको लागि आन्तरिक तयारी भने गर्नुपर्ने धारणा राखे । आउने नीति तथा कार्यक्रम र बजेटमा देखिने गरि आर्थिक सुधारका कामलाई अघि बढाइने उल्लेख गर्दै उनले वर्तमान सरकार निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने बताए । 
अर्थमन्त्री वाग्लेलाई भेट्न गएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । महासंघको टोलीले नीतिगत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पेस गरेका सुझावहरूलाई पनि सरकारले ग्रहण गरि कार्यान्वयन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो । 
महासंघ अध्यक्ष ढकालले सरकारले सुरुमै निजी क्षेत्रका धेरै माग सम्बोधन हुनेगरी सुधारका काम अघि बढाएकोमा स्वागत गरेको उल्लेख गर्दै वर्तमान सरकारबाट निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा सुधार र निजी क्षेत्रको मनोबल उच्च बनाउने खालका नीतिगत निर्णयको अपेक्षा गरेको बताए । उनले अब सरकारको नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । आन्तरिक पुँजी परिचालन गरेर देशभित्रै पनि केही गर्न सकिन्छ भनेर महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी काम गरिरहेको जानकारी ढकालले दिए । साथै उनले छिमेकी मुलुक बंगलादेशले समेत स्तरोन्नतिको समय सार्न पहल गरेको अवस्थामा नेपालको स्तरोन्नतिको समय सार्न सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।  
यस्तै, महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बहुमत प्राप्त सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वको अपेक्षा गरिएको धारणा राख्दै राजस्व न्यायाधिकरणजस्ता संस्थाहरूको पुनर्संरचना आवश्यक रहेको बताए । उनले मध्यपूर्वको संकटले  नेपाललाई पार्न सक्ने प्रभावबारे सरकारले आवश्यक सचेतना अपनाउनुपर्नेमा जोड दिए । 
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वैदेशिक नीति तर्जुमा गर्दा देशको अर्थतन्त्रलाई प्राथमिकतामा राखेर गर्नुपर्ने बताए । अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाको लागि निजी क्षेत्रमैत्री नीतिगत स्थायित्व आवश्यक रहेको उनको भनाइ थियो ।  
टोलीमा रहेका महासंघका उपाध्यक्षहरू हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले मध्यपूर्वको संकटले धेरै उद्योग व्यवसाय प्रभावित रहेको उल्ल्लेख गर्दै यस विषयमा आवश्यक पहल गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्