नेभिगेशन
अर्थतन्त्र
उद्योग वाणिज्य महासंघ चुनाव

घिमिरे समूहले ल्यायो पाँच मुख्य एजेण्डासहित घोषणापत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुँदैछ । निर्वाचनका लागि अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्  । ‘सुरक्षित निजी क्षेत्र ः सशक्त महासंघ’ को नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा महासंघलाई केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम बन्न नदिई आम उद्यमीको साझा र प्रभावकारी संस्था बनाउने संकल्प गरिएको छ  ।
घिमिरे समूहले महासंघको वर्तमान कार्यशैलीमा आमूल सुधारको प्रस्ताव गर्दै पाँचवटा मुख्य आधारस्तम्भ अघि सारेको छ  । प्रमुख एजेण्डा महासंघ सचिवालयलाई आधुनिक व्यवस्थापन प्रणाली र दक्ष जनशक्तिसहित पुनर्संरचना गर्नु छ  । वस्तुगत परिषद्लाई महासंघको नीति निर्माण र कार्यान्वयनको केन्द्र बनाउने घिमिरेको योजना छ  । युवा लक्षित स्टार्टअप, नवप्रवर्तन र एसएमइज स्थापनालाई विशेष प्राथमिकतामा राखिएको छ  । कृषि क्षेत्रमा बिचौलियाको भूमिका न्यून गर्दै उत्पादनदेखि बजारसम्मको ’एकीकृत मूल्य शृंखला’ निर्माण गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न राष्ट्रिय अभियान चलाउने घोषणापत्रमा छ  ।
घिमिरे समूहले ऊर्जा सुरक्षाका लागि ३ देखि ६ महिनाको भण्डारण सुनिश्चित गर्ने र नवीकरणीय ऊर्जा परियोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ  । निजी क्षेत्रको प्रतिष्ठा र आत्मसम्मानमा आँच आउँदा महासंघ मौन बस्न नहुने घिमिरे समूहको अडान छ । नीतिगत अनिश्चितता र बारम्बार हुने नियम परिवर्तनबाट व्यवसायीलाई जोगाउन ‘नीतिगत स्थिरता’ र ‘सम्पत्ति अधिकारको सुनिश्चितता’ लाई यस समूहले आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्