नेभिगेशन
अर्थतन्त्र
दोस्रो दिन पनि घट्यो बजार

सूचकसँगै कारोबार रकममा गिरावट

काठमाडौं । बहुमतको सरकार गठन सुनिश्चित हुँदा गत साता उत्साहित शेयर बजार चालु साता दोस्रो दिन पनि घटेको छ । सरकारले धरपकड थालेर विरोध सुरु भएसँगै राजनीतिक अस्थिरताको चिन्ता बजारलाई परेको देखिएको छ । सोमबार दोहोरो अंकमा घटेको सूचकसँगै कारोबार रकम पनि घटेको छ । 
साताको दोस्रो दिन नेप्से परिसूचक ४७.७१ अंकले घट्दै २८३१.३९ विन्दुमा रह्यो । 
यसअघि आइतबार परिसूचक ७१.०५ अंकले घट्दै २८७९.११ विन्दुमा थियो । १५ अर्ब तीन करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार कारोबार रकम १२ अर्ब ९६ करोड ६६ लाख  ५९ हजार रुपैयाँ रह्यो । ३ करोड १६ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।  
सबै उपसमूह घट्दा सूचकसँगै कारोबार रकम घटेको हो । सबैभन्दा बढी व्यापार समूह २.५६ प्रतिशतले घटेको छ । त्यस्तै अन्य २.१३, निर्जीवन बिमा १.८२, म्युचुअल फण्ड ०.९८, लघुवित्त १.३०, उत्पादन तथा प्रशोधन ०.२१, जीवन बिमा १.४०, लगानी १.५९, जलविद्युत् १.९३, होटल तथा पर्यटन १.१८, वित्त २.००, विकास बंैक १.२४ र बैंकिङ समूह १.८६ प्रतिशतले घटेको छ । 
२६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ वटाको घटेको छ । ५ वटाको शेयरमूल्य स्थिर रह्यो । घटेकामध्ये बढी सोलु हाइड्रोपावरको शेयरमूल्यमा  ७.७९ प्रतिशतको गिरावट रह्यो । युनिक नेपाल लघुवित्तको ७.२३ र सीवाइसी नेपाल लघुवित्त ६.८६ प्रतिशतले घटेको छ । 

घटेको बजारमा पनि हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएका चार कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इन शेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै सुपर खुदी हाइड्रोपावर ९.९९ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९.९८ प्रतिशतले बढेको छ । 
कारोबार रकमका आधारमा सोमबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । ङादी ग्रुप पावर ४३ करोड ८१ लाख, शिवम् सिमेन्ट्स ४३ करोड ४० लाख, अपी पावर ३८ करोड ५६ लाख र नेशनल हाइड्रोपावरको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्