नेभिगेशन
अर्थतन्त्र

अब आवेदन दिएकै दिन श्रम स्वीकृति

५ नयाँ देशसँग श्रम सम्झौता गरिने

काठमाडौं । वैदेशिक तथा आन्तरिक श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० बुँदे विशेष कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीलाई कार्यान्वयन गर्न मन्त्रालयले यो तदारुकता देखाएको हो । 
मन्त्रालयमा आयोजित बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले श्रम क्षेत्रलाई सुरक्षित र श्रमिकमैत्री बनाउन मन्त्रालयसँग सम्बन्धित विषयमा तत्काल कार्ययोजना बनाई लागू गर्न कर्मचारीहरूलाई निर्देशन दिए । 
मन्त्रालयको नयाँ कार्ययोजना अनुसार अब श्रम स्वीकृतिका लागि लामो समय कुर्नुपर्ने र टोकन प्रणालीमा बस्नुपर्ने झन्झट अन्त्य भएको छ । अब श्रमिकले आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 
यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि अनिवार्य रहेको पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई अब पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने भएको छ । यसका लागि पाठ्यक्रममा आधारित श्रव्यदृश्य सामग्री निर्माण गरी डिजिटल माध्यमबाट उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यसबाट सेवा प्रवाहमा लाग्ने समय र लागत घट्ने विश्वास मन्त्रालयको छ ।
यसैगरी, मन्त्रालयले श्रमिकहरूको न्यूनतम ज्यालालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रका श्रमिकहरूलाई आबद्ध गराउन देशव्यापी अभियान सञ्चालन गरिने पनि मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।
यस्तै, आन्तरिक रोजगारी प्रवर्धनका लागि सातै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा सीप मेला आयोजना गरिने भएको छ । उत्पादन र उद्यमशीलतामार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य मन्त्रालयको छ । यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप ५ वटा नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्