नेभिगेशन
अर्थतन्त्र

छात्रवृत्ति हिनामिनामा तीनविरुद्ध मुद्दा

काठमाडौं । छात्रवृत्तिको रकम हिनामिना आरोपमा  जुम्लाको तातोपानी–१ राँकास्थित गणेश माविका तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद भट्टराई, प्रधानाध्यापक नरेन्द्रबहादुर महत र लेखा सहायक कृष्ण कामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७९÷८० मा विद्यालयलाई छावृत्ति वितरणका लागि प्राप्त १ लाख ४५ हजार ३५० रुपियाँ नबाँडेर हिनामिना गरेको पाइएपछि मुद्दा चलाइएको हो । 
महतले छात्रवृत्ति बाँडियो भनेर तातोपानी गाउँपालिकालाई भर्पाइ पठाएका थिए । तर, रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको, प्रतिवादीहरूले मिलेमतोमा झुट्टा भरपाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ । मुद्दामा कैद र जरिवाना माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्