नेभिगेशन
उपत्यका

ओली पक्राउको विरोधमा एमालेले काठमाडौंमा वैशाख १२ गते विशाल प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एमाले) ले अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शन र विरोधका कार्यक्रम गर्ने भएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले ओलीलाई पक्राउ गरिएको घटननाको भर्त्सना गर्दै विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

बालेन्द्र शाह प्रधानमन्त्री भएलगत्तै गत शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

सरकारको उक्त कदमलाई प्रतिशोधपूर्ण तथा बदला प्रेरित भन्दै एमालेले आपत्ति जनाएको छ । उक्त प्रकरणको विरोधमा गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी खटाएर दमन गरेको आरोपसमेत एमालेले लगाएको छ ।

एमालेले सरकारको यो कदमको विरोधमा आगामी वैशाख १२ गते संघीय राजधानी काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित गर्ने निर्णय पनि एमालेले गरेको छ।

यस्ता छन् थप आन्दोलनका कार्यक्रम

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने ।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने ।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने ।
६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने । यसका साथै, भोलि (चैत १८) बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो ।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । यसका साथै, भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्