डल्लास (टेक्सास), १६ भदौ - उज्ज्वल भविष्यको खोजीमा अमेरिका आएका नेपाली विद्यार्थीहरूमध्ये केहीलाई डल्लासका सडकमा दयनीय अवस्थामा भेटिएको छ । डल्लास फोर्टवर्थ क्षेत्रमा भेटिएका सातजना मानसिक सन्तुलन गुमाएको पाइएकाले अस्पतालमा उपचाररत छन् । थप सात जनालाई नेपाली समाज टेक्सासले उद्धार गरी सहयोग रकम संकलन गरेर नेपाल फर्काएको छ ।
समाजका संयोजक विद्यार्थी प्रविस श्रेष्ठका अनुसार अमेरिकामा आएर पढिरहेका नेपाली विद्यार्थीको संख्या उल्लेख्य छ । धेरैजना सामाजिकरूपमा घुलमिल हुन नसक्ने, परिवारबाट बेवास्ता भोग्ने र व्यावहारिक जीवन–दक्षतामा कमी भएकाले ठूलो कठिनाइमा परेको भेटिने गरेका छन् । उनले भने, ‘हामीले सडकमा बेवारिसे अवस्थामा भेटिएका सात विद्यार्थीलाई टिकट काटेर नेपाल पठाएका छौं भने सात जनाको मानसिक सन्तुलन गुमेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।’
विद्यार्थीहरूलाई अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा आएका कठिनाइ र रोजगारी नपाउने समस्याले पिरोलेको पाइएको छ । १२ कक्षा सकेर सिधै आएका विद्यार्थीलाई यहाँको व्यवहारिक जीवनबारे थोरै मात्र जानकारी हुने भएकाले उनीहरू असहज अवस्थामा पुग्ने गरेको श्रेष्ठले बताए । उनका अनुसार अमेरिकामा पढाइ सजिलो छ भन्ने भ्रम बोकेर आएका विद्यार्थीहरूमध्ये केहीलाई अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक असन्तुलनको अवस्थामा पुगेको भेटिएको हो । सरकारका नयाँ नियम र नीतिले पनि थप दबाब बढाएको उनको भनाइ छ ।
युलेस सिटीका उपमेयर टिकाराम पौडेलले समेत नेपाली विद्यार्थीहरू मानसिक उपचारमा रहेको पुष्टि गरेका छन् । बिरामीहरूको व्यक्तिगत विवरण भने गोप्य राखिएको उनले बताए ।
विशेषज्ञहरूको भनाइमा यहाँको अवस्था हेर्दा विदेशमा पढ्न आउने विद्यार्थीहरूले शैक्षिक तयारी मात्र नभई मानसिक तयारी, सामाजिक सीप र आर्थिक व्यवस्थापनमा समेत सक्षम हुनुपर्ने आवश्यकता झनै प्रष्ट भएको छ । अमेरिकाभित्र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको मानसिक स्वास्थ्य समस्या सामान्य मात्र होइन, दिन प्रतिदिन गम्भीर बन्दै गएको छ ।

अमेरिकी सरकारको पछिल्ला नीतिहरूले पनि विद्यार्थीलाई थप असहज बनाइरहेको छ । हालै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी(डीएचएस)ले विद्यार्थीलाई पहिलो वर्ष कोर्स परिवर्तन गर्न नपाइने व्यवस्था ल्याएको छ । यसले नयाँ विद्यार्थीलाई अझ दबाबमा पारेको छ ।
यस्तै, ‘ड्युरेसन अफ स्टाटस’ हटाएर निश्चित अवधिका भिसा दिने प्रस्तावले पनि भविष्य अस्थिर बनाएको छ । भिसा नवीकरण र म्यादसम्बन्धी अनिश्चितताले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा तनाव बढाएको छ । शैक्षिक वर्ष २०२५ को पहिलो तीन महिनामै १ हजार ४९५ नेपालीले एफ–१ विद्यार्थी भिसा प्राप्त गरेका छन् ।
अमेरिकी एसइभीआइएस प्रणालीका अनुसार हाल १६ हजार ९३३ जना नेपाली विद्यार्थी अमेरिकाभित्र अध्ययनरत छन्, जसमा १० हजार ७३० पुरुष र ६ हजार ५०३ महिला छन् । यो संख्या गत वर्षको तुलनामा घट्दो छ ।
विद्यार्थीहरूको मानसिक स्वास्थ्य संकट केवल नेपालीमा मात्र सीमित छैन । भारत, चीन, बंगलादेश, अफ्रिकी मुलुकहरूका विद्यार्थी पनि यस्तै समस्यामा परेको विश्वविद्यालय स्रोतहरू बताउँछन् ।
सांस्कृतिक अलगाव, भाषागत अवरोध, आर्थिक कठिनाइ र नीतिगत अस्थिरताले सबै अन्तर्राष्ट्रिय विद्यार्थीलाई असर गरेको छ ।
यसबीच, अमेरिकाभित्रका विश्वविद्यालयहरूले मानसिक स्वास्थ्य सेवा विस्तार गर्न थालेका छन् । कतिपय संस्थानले भाषा–सहायक काउन्सलर राखेका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित परामर्श सेवा उपलब्ध गराउन थालेका छन् । तर, विद्यार्थी संख्या र उनीहरूको मानसिक समस्याका तुलनामा यी सेवाहरू पर्याप्त छैनन् । विद्यार्थी समुदाय र प्रवासी समाजको सक्रिय सहयोगबिना समस्या समाधान सहज नहुने देखिएको छ ।