काठमाडौं । कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको लेटरप्याड दुरुपयोगमा कारवाही गर्ने चेतावनी दिएको छ । कांग्रेस अनुशासन समितिको बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले खड्कालाई सचेत गराएको हो ।
खड्काले आफूलाई कांग्रेस कार्यवाहक सभापति भन्दै विज्ञप्ति जारी गरिररहेका छन् । विशेष महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व आइसके पनि खड्काकै अध्यक्षतामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक समेत बसेको थियो ।
यस्तो गतिविधि गलत भएको ठहर गर्दै समितिले अब उप्रान्त यस्ता कार्यमा संलग्न हुनेलाई पार्टी विधान र प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । ‘कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी छु भनी मिति ०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ,’ समितिको विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर कांग्रेसको विधान, २०१७ (संशोधनसहित) प्रचलित नेपाल कानुन बमोजिम कारबाही अघि बढाइने निर्णय गरिनेछ ।’
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीको अनुशासन उल्लंघन गर्ने ५ सय ७ जनाविरुद्ध प्राप्त उजुरीलाई वर्गीकरण गरी कारबाही प्रक्रिया अगाडि बढाउने पनि समितिको निर्णय छ । प्राप्त उजुरीहरूलाई समितिले पाँच विभिन्न प्रकृतिमा वर्गीकरण गरी अविलम्ब टुंगोमा पु¥याउने जनाएको छ ।
समितिका अनुसार प्राप्त उजुरीहरूलाई निर्वाचनमा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका र उनीहरूको प्रस्तावक वा समर्थक बसेका, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रत्यक्ष रूपमा प्रचारप्रसारमा सहभागी भएका, अप्रत्यक्ष रूपमा विपक्षी उम्मेदवारलाई सहयोग पु¥याएका, पार्टीको पक्षमा मत नमागी ‘साइलेन्स किलिङ’ (अन्तर्घात) मा संलग्न रहेका, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएर पनि निर्वाचनमा विपक्षीलाई साथ दिएकाको अलग अलग वर्गीकरण गरी कारवाही गर्ने समितिको तयारी छ ।
छानबिनबाट दोषी देखिएका वा आरोप लागेका व्यक्तिहरूलाई आफ्नो सफाइ पेस गर्न ७ दिनको समयसीमा तोकिएको छ । समितिले स्पष्टीकरण माग गर्ने र चित्तबुझ्दो जवाफ नआए विधान बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।
त्यस्तै, समितिले निर्वाचनका क्रममा भएका अन्य अनुशासन उल्लंघनका घटनाहरू भएमा त्यसको उजुरी दिने समय चैत मसान्तसम्म तोकेको छ । उक्त मितिपश्चात प्राप्त हुने कुनै पनि उजुरीमाथि कारबाही नगरिने विज्ञप्तिमा उल्लेख छ ।
इतरपक्षले विशेष नमान्ने, अदालत पर्खने
गगन थापा नेतृत्वको कांग्रेसले इतरपक्षमाथि कारवाहीको चेतावनी दिइरहँदा उनीहरुले भने आफूहरु नै आधिकारिक भएको दाबी गर्दै विशेष महाधिवेशन नमान्ने निष्कर्ष निकालेको छ । कार्यवाहक सभापतिका रुपमा पूर्णबहादुर खड्काको अध्यक्षतामा काठमाडौंमा दुई दिन बसेको इतरपक्षको बैठकले पार्टी आधिकारिकतामा सर्वोच्च अदालतको फैसला पर्खने निष्कर्ष निकालेको हो ।
‘२२ गते सर्वोच्च अदालतमा पेसी छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दियो, त्यो अवैध हो, गैरकानुनी हो र राजनीतिक रूपमा उपयुक्त होइन भनेर हामी सर्वोच्च अदालतमा मुद्दा दिएका छौं,’ बैठकपछि नेता विमलेन्द्र निधिले भने, ‘विशेष महाधिवेशनलाई हामीले मानेका छैनौं, हामी सहभागी पनि भएनौं ।’
बैठकमा ‘मुद्दाको सम्पूर्ण तयारीका लागि पनि अगाडि बढ्नुपर्छ भनेर छलफल गरेका’ उनले बताए । त्यस्तै, उनले आफूहरुनै असली कांग्रेस भएको निष्कर्ष पनि पार्टीले निकालेको जानकारी दिए ।
त्यस्तै, बैठकमा नेता डा. शेखर कोइरालाले संस्थापन समूहको कारवाहीको धम्कीबाट डराउनु नपर्ने बताए । ‘पूर्णबहादुरजीलाई सचेत गराउने अनुशासन समिति बैठकको निर्णय सुने दुःख लाग्यो । तर, यसबाट डराउन पर्ने कुनै कारण छैन,’ बैठकमा उनले भने । कोइरालाले सबै पक्षलाई समेट्दै अगाडि बढ्नुपर्ने बताए । बैठकमा निर्वाचनको परिणाम र समसामयिक परिस्थितिका बारेमा पनि छलफल भएको थियो ।