नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको पहिलो बैठक आज

सभामुख निर्वाचनको मिति तोक्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान भएको छ । फागुन २१ को निर्वाचनपछि संसद् बैठक पहिलो पटक बस्न लागेको हो । संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची सार्वजनिक बुधबार सार्वजनिक गरेको छ । 
बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा सुनाउने कार्यसूची छ । प्रतिनिधिसभामा कांग्रेस सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य छन् । उनैले नवनिर्वाचित सांसदहरुको सपथ गराएका थिए ।  
बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाइने छ । यस्तै बैठकमा गृहमन्त्रीले तीनवटा अध्यादेश पेस गर्ने कार्यसूची छ । मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेस गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा प्रतिनिधिसभाबाट सभाले आफ्नो नियमिावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली ०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिनेछ । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनयन पनि गर्ने सम्भावित कार्यसूची छ । 
यस्तै, दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने सूची पनि छ । सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गतेका लागि तोक्ने तयारी छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि २० गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ । निर्वाचन चाहिँ २२ गते गरेर सोही दिन पदबहाली पनि गर्ने कुरा भएको छ,’ उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भनिन् । 

समान व्यवहारको माग 
प्रतिनिधिसभामा यसपटक ६ दल छन् । राष्ट्रिय स्वतन्त्र पार्टी एकल सत्तारुढ हुँदा ५ दल प्रतिपक्षको बेञ्चमा छन् । उनीहरुले संसद्को गतिविधिमा सम्मानजनक व्यवहार हुनुपर्ने माग गरेका छन् ।
संसद्को दोस्रो ठूलो दल कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय गतिविधिमा सम्मानजनक उपस्थितिसहितको व्यवहार माग गरेका छन् ।  
प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यस्तो विषय उठेको हो । उक्त बैठकमा सबैभन्दा ठूलो दल रास्वपाबाट सांसदहरू डीपी अर्याल, कवीन्द्र बुर्लाकोटी, विपीन आचार्य, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार सहभागी थिए ।
कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गुरु बराल र गणेशसिंह ठगुन्ना, नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुश्बु ओली र श्रम संस्कृति पार्टीबाट आरेन राई सहभागी थिए । 
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १ सय ८२ सांसद छन् । दोस्रो दल कांग्रेस ३८ सिटसहित निकै फराकिलो संख्याले पछाडि परेको छ । संसद्मा साना दलको हैसियतमा खुम्चिएका दलहरूले संसद्मा सम्मानजनक उपस्थिति होस् भन्ने कुरामा जोड दिए । 
संसदमा दलहरूको आकारअनुसार बोल्ने समय निर्धारण हुन्छ । पहिलो बैठकमा दलहरूले शुभकामना दिने कार्यसूची तय भएको छ । संसद् सचिवालयका अनुसार रास्वपालाई ४० मिनेट, कांग्रेसलाई ८, एमालेलाई ५ र अन्य तीन दललाई ४÷४ मिनेट समय दिने प्रस्ताव गरिएको छ । छलफलमा दलहरूले बोल्ने समयमा समान उपस्थिति हुने वातावरण बनाउन आग्रह गरेका । एमालेका सांसद गुरु बरालले समय उपलब्धतामा ध्यान दिन आग्रह गरेको बताए । 
त्यस्तै, विपक्षी दलहरुले संसदीय समितिमा संख्याले भ्याएसम्म सबैको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ समिति छन् ।
लैंगिक प्रतिनिधित्वका हिसाबले प्रतिनिधिसभामा १७९ पुरुष र ९६ जना महिला छन् । राजनीतिमा पुस्तान्तरणको माग गर्दै गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाअनुसार यसपटकको प्रतिनिधिसभामा युवा प्रतिनिधिको बाहुल्य छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्