नेभिगेशन
राजनीति

एमालेमा बादल कावा अध्यक्ष

काठमाडौं । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले दोहोरो जिम्मेवारी पाएका छन् । बुधबार पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत भएका उनले नै एमाले नेतृत्वको जिम्मेवारी पाएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको संसदीय दलको बैठकबाट उनी नेता चयन भएका हुन् । प्रतिनिधिसभामा बादल एमालेका समानुपातिकतर्फबाट सांसद हुन् । 
दलको नेतामा इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि आकांक्षी थिए । उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिए पनि उनले प्रस्तावक र समर्थक जुटाउन नसक्दा उम्मेदवारी दिन पाएनन् । एकल उम्मेदवारी दर्तापछि बादल दलको नेता चयन भएका हुन् । बादल साबिकको नेकपा माओवादी युद्धकालका सैन्य कमाण्डर हुन् । ०७८ सालमा चितवनको सौराहामा सम्पन्न एमालेको १०औं महाधिवेशनमा उनी उपाध्यक्ष बनेका थिए । ११औं महाधिवेशनमा पनि उनी उपाध्यक्ष निर्वाचित भएका थिए ।
बुधबार नै बादललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत तोकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए । 
अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयनका लागि भन्दै शनिबार गिरफ्तार गरिएको थियो । हाल उनी प्रहरी हिरासतमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्