नेभिगेशन
मनोरञ्जन

लाखौँ युरो बराबरका तीनवटा प्रसिद्ध चित्रकला चोरी

इटालीको उत्तरी सहर पार्मा नजिकै रहेको एउटा संग्रहालयबाट चोरहरूले रेन्वार, सेजान र माटिसका लाखौँ युरो मूल्य पर्ने तीनवटा चित्रकला चोरी गरेको प्रहरीले सोमबार जनाएको छ ।
प्रहरीका अनुसार यो चोरी मार्च २२–२३ को रातमा भएको थियो, जहाँ चोरहरूले प्रवेशद्वार जबरजस्ती खोलेर भित्र पसेका थिए । चोरी भएका तीन चित्रकलाहरूमा अगस्ट रेन्वारको ‘फिस’, पल सेजानको ‘स्टिल लाइफ विथ चेरीज’ र हेनरी माटिसको ‘ओडालिस्क अन द टेरेस’ रहेका छन् ।
निजी संग्रहालयको रूपमा रहेको ‘म्यागनानी रोक्का फाउन्डेसन’ पार्माबाट २० किलोमिटर टाढा ग्रामीण भेगमा अवस्थित छ । स्थानीय सञ्चारमाध्यमका अनुसार चोरहरूले तीन मिनेटभन्दा कम समयमै चित्रकलाहरू लिएर संग्रहालयको बगैँचा हुँदै भाग्न सफल भएका थिए ।


सन् १९७७ मा स्थापित यस फाउन्डेसनमा कला इतिहासकार लुइगी म्यागनानीको संग्रह राखिएको छ, जसमा ड्युरर, रुबेन्स, भ्यान डिक, गोया र मोनेटका कृतिहरू पनि छन् । संग्रहालय प्रशासनले यो चोरीमा कुनै योजनाबद्ध र सङ्गठित गिरोहको हात रहेको विश्वास गरेको छ । अलार्म बजेपछि चोरहरूको काममा अवरोध पुगेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सोमबार संग्रहालय बन्द रहने भएकाले यसबारे थप प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।
युरोपका प्रमुख संग्रहालयहरूमा भएका ठुला चोरीका घटनाहरूपछि यो अर्को ठुलो अपराध हो । यसअघि अक्टोबरमा पेरिसको लुभ्र संग्रहालयबाट ८ करोड ८० लाख युरो मूल्य बराबरका फ्रान्सेली शाही गहना र अन्य सामग्री चोरी भएका थिए ।
इटालीका कला विज्ञ क्लाउडियो स्ट्रिनाटीले चोरी भएका यी तीन चित्रकलाहरू ती प्रसिद्ध कलाकारका सामान्य कृतिहरू मात्रै भएको बताएका छन् । उनले ‘एसोसिएटेड प्रेस’सँग कुरा गर्दै भने, ‘उदाहरणका लागि, रेन्वारको चित्र निकै सुन्दर छ, तर फाउन्डेसनको समग्र संग्रहलाई हेर्दा यो सबैभन्दा महŒवपूर्ण कृतिहरूमध्ये पर्दैन ।’
स्ट्रिनाटीले यो चोरीपछि फिरौतीको माग आउन सक्ने अनुमान पनि गरेका छन् । ‘कलाकृतिहरूको चोरी प्रायः असुली गर्ने उद्देश्यले पनि हुने गर्दछ,’ उनले थपे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन