नेभिगेशन
प्रदेश

हराए इन्द्रावती र जलवीरेका पानीघट्ट

काभ्रे । काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमाना इन्द्रावती नदीमा रहेका पानीघट्टहरु अहिले विस्थापनको क्रममा पुगेका छन् । ती पानीघट्ट रहने बगरभरि यतिबेला क्रसर उद्योगहरुले ठाउँ ओगटेका छन् ।
बगरैभरि देखिने पानीघट्टहरुलाई आधुनिक मेशिनको प्रयोगले पानीघट्टहरु लोप भएका हुन् । मेलम्चीदेखि दोलालघाटसम्म करिब ५० भन्दा बढी ठाउँमा रहेका घट्टहरु अहिले ५ ठाउँमा पनि छैनन् । ती ठाउँमा अहिले २५ भन्दा धेरै क्रसर मेशिन छन् जसले इन्द्रावतीको सौन्दर्य नै बिगारिरहेका छन् ।
आँपचौरका रामकृष्ण माझी पुराना दिन सम्झँदै इन्द्रावतीमा घट्टहरु लोप भएकोमा चिन्तित छन् । नदीमा घट्ट चलाउनु, डुंगा खियाउनु, माछा मार्नु नदी आसपासका माझी तथा दनुवारहरुको पुख्र्यौली पेशा हो ।
नदीमा ठाउँ–ठाउँमा पुल बनेपछि डुंगा खियाउन नपर्ने भयो । माछा त खोलामा पाइनै छाडिसक्यो । घट्ट बनाउन प्रयोगमा आउने ढुंगा पनि नपाइने भइसके । विगतमा घट्टमा मकै, कोदो र गहुँ लगायतका अन्न पिसानीको काम हुन्थ्यो । तर अहिले गाउँमा आधुनिक सुविधा सम्पन्न मेशिनको प्रयोगमा हुन थालेपछि घट्टहरु लोप भएको घट्ट व्यवसायी बताउँछन् । 
परम्परागत पेशाबाट जिविका चलाउन नसकिने भएपछि धेरैजसो युवाहरु अहिले वैकल्पिक पेशातिर लागेका छन् । आफ्नो नाममा थोरै मात्र जग्गा जमिन भएकाहरु खेतीपाती र पुरानो व्यवसायको वास्ता नगरी विदेश लागेका छन् भने केही रोजगारीका लागि राजधानी लगायतका शहरमा पुगेका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रका ग्रामीण भेगमा भने कतै कतै पानीघट्टहरु अझै देखिन्छन् । सिन्धुपाल्चोककै जलवीरे र कुभिण्डे क्षेत्रमा पनि थोरै मात्र घट्ट सञ्चालनमा छन् ।
जिल्लाको मध्यभाग हुँदै बग्ने जलवीरे नदी किनारामा रहेका पानीघट्ट पनि बिस्तारै घट्दै गइरहेका छन् । जलवीरे नदी किनारामा २० भन्दा बढी ठाउँमा रहेका घट्टहरु अहिले मुस्किलले ४ ठाउँमा मात्र छन् । स्थानीय बतासे गाउँकी ६५ वर्षिय मैना माझी सोह्र वर्षको उमेरदेखि जलवीरेमा घट्ट व्यवसाय सञ्चालन गर्दै आएकी हुन् । सञ्चालनमा रहेका केही घट्टहरुबाट वाषर््िाक एक लाख जती कमाइ हुने मैनाको भनाइ छ । अहिले यो पेशाको अस्तित्व हराउन थालेको अर्की व्यवसायी काहिँली माझी बताउँछिन् । पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्थ्यो र अहिले पनि गरिन्छ । सिन्धुपाल्चोकका करिब १ हजार ५ सयभन्दा बढी माझी तथा दनुवारहरुको रोजगारी गुमेको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्