नेभिगेशन
मनोरञ्जन
सर्वनाम ४५ वर्षमा

चित्रकला, काव्यिक नाटक र रामायण गुञ्जियो

काठमाडौँ । दुई महिला एकै डोरीमा बाँधिएका छन् । विभिन्न रङको सलले बनाइएको डोरी । मञ्चको एउटा कुनातिर फर्केकी महिला गाग्रो बोक्दै सुस्तरी हिँड्छिन् । कुवाबाट पानी उघाउँछिन् । मुख धुन्छिन्, गाग्री भरेर घरतर्फ हिँड्छिन् । अर्की महिला भाँडा मस्काउँदै हुन्छिन् । कहिले कुचो लगाउँछिन् त कहिले घरकै अन्य केही काम ! 
बिनासंवाद कलाकारले गरेको यस्तै शारीरिक हाउभाउबाट बुझ्न सकिन्छ, उनी दुई घर सम्हाल्ने महिला हुन् । त्यही डोरी पच्छ्याउँदै मञ्चको माझमा आइपुग्दा यी दुईमध्ये एकले हाउभाउबाटै पढ्ने÷लेख्ने इसारा गर्छ ।  अर्कोले पनि ‘हुन्छमा हुन्छ’को भावमा सहमति दिन्छिन् । त्यत्तिकैमा दुवैले पढ्दै गरेको, कलम चलाउँदै गरेको देखिन्छ । जसै शिक्षाको ज्ञान उनीहरुले पाउँछन्, अँध्यारो अनुसार उज्यालिन्छ । त्यसपछि दुईले संवाद बोल्छन्, कविताका लयमा !
रंगकर्मी अशेष मल्लद्वारा निर्देशित काव्यिक नाटक ‘समानता’को दृश्य हो यो । सर्वनाम थिएटरले ४५ वर्ष प्रवेश गरेको अवसरमा कालिस्थानस्थित थिएटरभित्रै मञ्चित यो नाटकले दबिएका, थिचिएका र किनाराकृत गरिएका महिलालाई प्रस्तुत गर्दै शिक्षाबाट प्राप्त ज्ञानले नै समानताको बाटो समाउन सकिने सन्देश पस्केको छ । शिक्षाले दिने ज्ञानले मात्रै बन्धनहरू तोडेर, एक महिला सचेत अनि जागरुक हुँदै आफ्नो आवाज र अधिकारका लागि लड्न एवं बोल्ने सकिने विषय यो नाटकले उठाएको छ । यो नाटक छोटो भए पनि यसमा समेटिएको विषयवस्तु निकै सशक्त छ । यसले महिलाहरू कसरी घरकै चार भित्तामा अल्झिएका छन् अथवा उनीहरूलाई कसरी घरका जिम्मेवारीले थिचेको छ भन्ने देखाउँदै यो नाटकले समानताको कुरा गर्छ, समान अधिकार र अवसरको कुरा उठाउँछ । थिएटरले ४५ वर्ष टेकेको अवसरमा बुधबार सर्वनाममा विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा चित्रकला प्रदर्शनीसमेत गरिएको छ । ‘सिर्जना आर्ट अफ फाइन आट्र्स’का ‘अलुम्नाई’हरूका चित्रकला थिएटरमा प्रदर्शन गरिएको हो । त्यस्तै गायिका लोचन भट्टराईद्वारा ‘रामायण’ गायन गरिएको यो कार्यक्रममा सर्वनामका दुई विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । अभिनेत्री उषा रजक र कलाकार मनोज महर्जनलाई कार्यक्रममा सम्मान गरिएको हो ।
‘कति पटक त यो क्षेत्र छाडौं भन्ने पनि लाग्छ । साथीभाइको साथ र यहाँहरूको मायाले नै यो क्षेत्रमा सक्रिय हुँदै आएकी छु,’ अभिनेत्री रजकले भनिन् । रजकले थिएटरमा यसअघि ‘अर्को कुरुक्षेत्र’मा अभिनय गरेकी थिइन् । मनोज भने अहिले म्युजिक भिडियोमा सक्रिय छन् । उनी अभिनीत ‘ऐला लुवाय’ त दर्शकबीच चर्चित म्युजिक भिडियो हो । 
कार्यक्रममा प्रो. डा. सावित्री कक्षपतिले आफूहरूले सरकारको सहयोगबिना सर्वनामलाई ४५ वर्षसम्म संचालनमा ल्याउन सकेको बताइन् । ‘हामी सरकारलाई भन्छौं– हेर तिम्रो सरकारी बजेट पाएको संस्थाले नाट्य क्षेत्रलाई के गरिरहेको छ ? तिम्रो एक पैसा पनि नलिएको हामी के गरिरहेका छौं ?’ उनले भनिन्, ’त्यसैले म यही मञ्चबाट भन्ने गर्छु– तिमीले केही गर्नु पर्दैन । नीति बनाएर हामीलाई सहजीकरण गरिदेऊ । काम हामी गर्छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन