नेभिगेशन
अर्थतन्त्र

सरकारले रफ्तारमा काम गरिरहेको छः अर्थमन्त्री

पर्सा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३÷८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रियामा उनले प्रधानमन्त्री बालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए ।
‘प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो संघीय सरकारले त्यो रफ्तारलाई पछ्याइरहेको छ,’ मन्त्री वाग्लेले भने, ‘हाल मन्त्रालयहरूबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ । राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्काे मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ ।’
उनले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताए । ‘यहाँका उद्योगी–व्यवसायीले वर्षौंदेखि हैरानी भएको गुनासो छ । सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौं,’ डा. वाग्लले भने ।
उनले आफ्ना अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुरालाई सम्बोधन गर्ने प्रयास गरेको बताए । अर्थमन्त्री डा. वाग्लेले अर्थमन्त्रीको पदवहाल गर्नेवित्तिकै राजस्व अनुसन्धान विभागको खारेजी र सांकेतिक रूपमा १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको बताए ।
‘यो सुरुवात मात्रै हो, थप काम अगाडि बढ्दै छन् । विगतमा गठबन्धन सरकारले काम गर्न यो वा त्यो बाहना गर्थे, जनताले अभूतपूर्व मत दिएकाले अब त्यो छुट हामीलाई छैन । त्यसैले राम्रो काम गर्न सुरु गरिसकेका छौं,’ उनले भने । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । उद्योगको प्राथमिक कच्चापदार्थका रूपमा रहेको बिजुली नियमित र भरपर्दाे व्यवस्था गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्