नेभिगेशन
राजनीति

निर्वाचनमा रास्वपाको चमत्कारिक परिणामको पृष्ठभूमि अध्ययन आवश्यकः भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपाले निर्वाचनमा चमत्कारिक परिणाम ल्याएको उल्लेख गर्दै त्यसको पृष्ठभूमि अध्ययन आवश्यक रहेको बताए ।

परराष्ट्रविद् समेत रहेका भट्टराईले नेपालको भूराजनीतिक संवेदनशीलता बढ्दै गएको उल्लेख गर्दै यस्तो अवस्थामा दलहरूबीच राष्ट्रिय एकता अपरिहार्य रहेको स्पष्ट पारे । उनले आन्तरिक रूपमा प्रतिस्पर्धा र मतभेद भए पनि राष्ट्रिय हितका सवालमा एकजुट हुनुपर्नेमा जोड दिए ।
भट्टराईले नेपाल चीन र भारतजस्ता ठूला छिमेकी मुलुकबीच रहेको सन्दर्भमा अझ संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा गर्न एकीकृत दृष्टिकोण आवश्यक रहेको बताए ।

उनले दलहरूबीच आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि मुलुकलाई जोगाउन राष्ट्रिय एकता कायम गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्