नेभिगेशन
राजनीति

एमालेमा विशेष महाधिवेशन माग

काठमाडौं । एमालेभित्र विशेष महाधिवेशनको चर्चा शुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा नराम्रो पराजय बेहोरेको एमालेका केही युवा नेताहरुले  नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन माग गर्ने गृहकार्य अघि बढाएका हुन् । 
उसो त एमालेभित्र अहिले संस्थापन समूहभित्रै फरक मत देखिएको छ । संसदीय दलको नेता चयनमा असन्तुष्टि जनाउँदै अनेरास्ववियूकै विद्यार्थी नेताहरुले महासचिव शंकर पोखरेलको राजीनामा मागेका छन् । पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पार्टीका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले नै सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए । 
निर्वाचन सम्पन्न भएको एक महिनासम्म पनि औपचारिक समीक्षा पार्टीभित्र शुरू नभएकाले विशेष महाधिवेशन माग गर्न प्रतिनिधिहरूको हस्ताक्षर अभियान शुरू गरिएको यो अभियानमा सक्रिय एक नेताले बताए । एमालेको पार्टी विधान–२०४९ को धारा ७३ मा दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान थालिएको बताइएको छ । 
विशेष महाधिवेशन माग गर्न तयार पारिएको भन्दै प्राप्त निवेदपत्रमा निर्वाचनको पराजयलाई मुख्य कारण देखाइएको छ । ‘संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम प्रत्यक्षमा १६५ सिटमा ९ सिट (५.४५ प्रतिशत) र समानुपातिकमा १३.४३ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास गरेको अवस्था हो,’ निवेदनमा उल्लेख छ ,‘राजधानी रहेको काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनुले गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्