नेभिगेशन
मनोरञ्जन

अनि त्यसपछि बन्यो ‘शोले’

काठमाडौँमा जारी नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल’ नामक सत्रमा भारतीय चलचित्रका प्रसिद्ध निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालले संवाद गरे । 
    अभिनेता हमालले सहजीकरण गरेको उक्त अन्तरक्रियात्मक कार्यक्रममा निर्देशक सिप्पीले आफ्नो लोकप्रिय चलचित्र ‘शोले’ निर्माणका अनुभवबारे चर्चा गरे ।
    उनले भने, ‘शोले मेरा लागि सोचिएको वा लेखिएको चलचित्र होइन । लेखक जोडी सलिम–जावेदले एउटा सानो कथाको स्वरूप तयार गरेका थिए । त्यो सुरूमा अरु कसैका लागि सोचिएको थियो तर त्यो मेरो शैलीसँग मेल खाने देखेपछि मलाई प्रस्ताव गरियो । उनीहरूले एक आर्मी अफिसर र दुई अपराधीको कथा सुनाए र हामीले मिलेर सबै पटकथा तयार ग¥यौँ । त्यो हामी सबैको सामूहिक प्रयासको प्रयासको नतिजा थियो ।’
    उनँले सुरुआती समयमा चलचित्रलाई असफल मानिएता पनि दर्शक चलचित्र भवनमा ‘रिपिट’ भएपछि सफल हुनेमा आफू विश्वस्त भएको बताए । उक्त चलचित्र आफूले सोचे जस्तो बनाउन नसक्नुको कारण प्राप्त बजेट रहेको निर्देशक सिप्पीले खुलासा गरे ।
    ‘मैले माग गरेको बजेटभन्दा आधा पाएको कारण म कसरी तयार गर्ने भन्ने रनभुल्लमा थिएँ, तर हामी सबै प्राविधिकको मेहनतले चलचित्र बन्यो र सबै दर्शकले मन पराउनुभयो । सोही सफलताका कारण म यहाँ नेपाल आइपुगेको छु,’ निर्देशक सिप्पीले भने ।
    उनका अनुसार सन् १९७३ अक्टोबर २ मा एक करोड बजेटमा सुरु गरिएको थियो । करिब एक घण्टासम्म चलेको उक्त संवाद कार्यक्रममा अभिनेता हमालले दर्शककै रूपमा निर्देशक सिप्पीमाझ जिज्ञासा राखेका थिए ।
    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गरेको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा प्रतिस्पर्धामा रहेका ४० देशका ८८ चलचित्र प्रदर्शन हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनले युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएको जनाउँदै युवालाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशालालगायतका कार्यशाला पनि राखेको बताए ।
    यही २३ चैतसम्म सञ्चालन हुने महोत्सवमा चलचित्रकर्मीसँग अन्तरक्रिया, युवा पुस्ता र एआई चलचित्रलाई प्राथमिकता रहेको उनले जानकारी दिए ।
    ‘विश्वभरका कथाको उत्सव’ भन्ने नारा राखिएको महोत्सवमा प्रतिस्पर्धामा नरहेका ६ चिनियाँ र ४ रुसी चलचित्रसमेत प्रदर्शन गरिने अध्यक्ष पाठकले जानकारी दिए । महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ  । त्यसै, राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।
नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।  महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई ५०० डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई ५०० अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन