सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पहिलो पटक करिब १ हजार २०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण गरिएको छ । परम्परागतरूपमा धान, मकै, आलु लगायतका बाली उत्पादन गर्दै आएका यहाँका किसानहरूले यसवर्ष परीक्षणका रूपमा मसला बाली अन्तर्गत पर्ने जिरा खेती सुरु गरेका हुन् ।
हेलम्बु गाउँपालिका–७ महाँकाल क्षेत्रका किसानले मंसिर महिनामा करिब १ केजी जिराको बीउ छरेका थिए । समयअनुसार गरिएको हेरचाह र अनुकूल मौसमका कारण चैत महिनामा जिराको बोट राम्रोसँग फुलेको छ भने बैशाख महिनाभित्र उत्पादन लिन सकिने अवस्थामा पुगेको छ ।
कम उचाइमा पनि जिरा उत्पादन सम्भव देखिएपछि किसानहरूले यसलाई नयाँ सम्भावनाका रूपमा हेर्न थालेका छन् । परीक्षणका क्रममा जिराको बोट स्वस्थरूपमा बढ्नुका साथै राम्रोसँग फूल लागेकाले यस क्षेत्रको हावापानी जिरा खेतीका लागि उपयुक्त हुन सक्ने संकेत देखिएको छ । जिरा खेती सफल भएको खबर फैलिन थालेपछि आसपासका किसानहरू पनि खेती अवलोकन गर्न पुग्ने गरेका छन् ।
काभ्रेमा पनि जिरा खेतीको सम्भावना राम्रो
राष्ट्रिय मसलाबाली विकास कार्यक्रमका अनुसार नेपालमा जिरा खेतीको राम्रो सम्भावना छ । नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी, काभे्र, मकवानपुर, दोलखा, सल्यान, रुकुम, मोरङ, कैलाली, कास्की र पाल्पा लगायतका जिल्लाहरुमा यसको राम्रो उत्पादन गर्न सकिन्छ । यसमध्ये नुवाकोट, सल्यान, रुकुम र दोलखामा प्रतिरोपनी १० केजीसम्म जिरा फलेको पाइएको छ । यो न्यूनतम उत्पादन हो । त्यस्तै दाङ, नवलपरासी, मकवानपुर, मोरङ, कास्की, पाल्पा र सिन्धुपाल्चोकमा प्रतिरोपनी १५ केजीसम्म जिराको उत्पादन भएको अनुसन्धानबाट देखिएको छ ।
यसैगरि काभ्रे र नुवाकोटकै केही भेगमा भने यसको प्रतिरोपनी १५ केजीभन्दा धेरै उत्पादन भएको देखिन्छ । यसमा व्यवसायीकता अपनाउन सक्ने हो भने प्रतिहेक्टर ६ सय केजीसम्म जिरा फलाउन सकिने अनुसन्धान बताउँछ । व्यवसायिक खेती नभए पनि कृषकहरुले भने आफ्नो घरायशी प्रयोगका लागि मात्र भए पनि करेसाबारी र घरको वरिपरि यसको खेती गर्ने गरिएको पाइन्छ ।
नेपालमा सम्भावना कति ?
आज वर्षेनी दुई अर्बभन्दा धेरै मूल्यको जिरा भारत लगायतका अन्य तेस्रो मुलुकबाट नेपाल ल्याउनु परिरहेको छ । आर्थिक वर्ष ०६८÷०६९ मा ६ हजार ३३ मेट्रिक टन जिरा आयात गरिएको थियो । जुन तत्कालिन मूल्य अनुशार ५८ करोड ३९ लाख बराबरको थियो । आर्थिक वर्ष ०७२÷०७३ मा ६ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ बराबरको चिया–कफि र मसलाजन्य वस्तुको आयात भएको थियो । जसमध्ये डेढ अर्बको जिरा मात्रै आयात भएको देखिन्छ । अहिले नेपाली बजारमा प्रतिकेजी जिराको ७ सय रुपैयाँभन्दा धेरै पर्छ । र यसको आयात चार वर्ष यता दोब्बरले बृद्धि भएको तथ्याङ्क देखाउँछ ।
जिरा खेतीको इतिहास
जिरा खेतीको विश्व इतिहास केलाउने हो भने यसको उत्पति इजिप्टको मिश्रमा भएको पाइन्छ । त्यहाँबाट शुरु भएको जिरा खेतीले विश्वका प्रमुख व्यापारिक राष्ट्रहरु इरान, इराक, साउदीअरब, चीन, भारत, इन्डोनेशिया लगायतमा आफ्नो स्थान बलियो बनाएको छ । यी देशहरुमा यसको उत्पादन ठूलो मात्रामा हुने गरेको छ । यो अलि सुख्खा ठाउँ र उष्ण तथा समउष्ण हावापानी भएका भेगहरुमा उत्पादन गर्न सकिने मसलेबाली हो । तर धनियाँ जस्तो सहजै यसको खेती गर्न भने अलि कठिन नै छ । १ सय ग्राम जिराको दानामा पानीको मात्रा १२ प्रतिशत रहने गरेको छ । त्यस्तै प्रोटिन १८.७ प्रतिशत, चिल्लो पद्धार्थ १५ प्रतिशत, कार्बोहाइड्रेट ३६.६ प्रतिशत, क्याल्सियम १.०८ प्रतिशत, फस्फोरस ०.४९ प्रतिशत, खनिज ५.८ प्रतिशत, रेशा ५.८ प्रतिशत र अन्य ४.५३ प्रतिशत पाइन्छ ।
नेपालमा जिराको खेती जात र ठाउँ अनुशार फरकफरक तरिकाले गर्न सकिने अध्ययनले देखाएको छ । नेपालका लागि सिफारिस गरिएका जिराको जात मध्ये आरजेड–१९, आरजेड–२०९, जिसी –१, जिसी–२ लगायत मुख्य छन् । यसले खेती गरिएको करिब ४ महिनामा उत्पादन दिइसक्छ । जिरा एकवर्षिय बाली हो । नेपालको माटो अनुशार प्रतिरोपनी १ केजी विउ लगाएर खेती गर्ने हो भने यसले राम्रो उत्पादन दिने विज्ञहरु बताउँछन् ।
विउ रोपिसकेपछि माटोको चिस्यानको अवस्था हेरेर नउम्रेसम्म नियमित पानी हालिरहनु पर्छ । २ हप्ता जति समयमा जिरा उम्रिसक्छ । यसको खेती गरिएको जग्गामा नियमितरुपमा गोडमेल गर्नुपर्छ र करिब १ हप्तामा सिंचाई गर्नु आवश्यक छ । यो खेतीमा किराको प्रकोप अरु बालीभन्दा धेरै लाग्ने सम्भावना हुन्छ । खराने रोग, बोट ओइल्याउने रोग लगायतले कृषकहरुलाई समस्या दिने गरेको छ । यसरी सुरक्षा दिएर खेती गर्ने हो भने नेपालमा जिरा खेतीको राम्रो सम्भावना रहेको बताइन्छ ।