नेभिगेशन
राजनीति

ओली र लेखकको तेस्रो पटक म्याद थप

अदालतद्वारा थप ५ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तेस्रो पटक म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार ५ दिन म्याद थप गरेको हो । 
‘ओली र लेखकलाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागु हुने गरी ५ दिन म्याद थपको अनुमति प्रदान गरिएको छ,’ आदेशमा उल्लेख छ । भदौ २३ र २४ को घटनामा ज्यान सम्बन्धी कसुरकामा अनुसनधान गनुपर्ने कार्की आयोगको सिफारिसको आधारमा पक्राउ गरिएका दुबै जनाको बयान सकिइसकेको छ । चैत १४ गते पक्राउ परेका उनीहरुलाई पहिलो पटक ५ दिन,  त्यसपछि २ दिनको म्याद थप गरिएको थियो । तेस्रो पटकमा ५ दिनको म्याद थपिएको हो ।
अदालतले थप अनुसन्धान गर्ने, प्रमाण बुझ्ने समेतका कार्यहरू गर्न बाँकी रहेको भन्दै म्याद थपको अनुमति दिएको छ । दुबै जनाले आफूहरूलाई गैरकानुनी रूपमा प्रहरीले पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेका छन् ।  उक्त रिट निवेदनमा सोमबार सुनुवाइ हुने भएको छ । 
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आइतबार सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 
प्रहरीले गत शनिबार चैत १४ मा दुवैलाई पक्राउ गरेको थियो । पक्राउको भोलिपल्ट अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै मुक्त गर्न मागसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 
यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ ।

प्रदेश सांसद शर्मा हिरासतमुक्त 
एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त भएकी छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा संलग्न कागजात हेर्दा पीडितको पढाइमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको भन्दै शर्मालाई थुनामा राख्नुनपर्ने आदेश गरेको हो । घरमा काम गर्न राखेको बालिकामाथि ज्यादती गरेको आरोपमा शर्मालाई धुम्बाराहीस्थित निवासबाट प्रहरीले उनलाई चैत १६ मा पक्राउ गरेको थियो । 
शर्माले पीडितलाई यातना दिई दास बनाइ राखेका हुन भन्ने आरोप पुष्टि गर्ने वस्तुनिष्ठ आधार नदेखिएकाले उनीमाथि दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएकाले सरकारी वकिल कार्यालय काठमाडौं र पाटन उच्च अदालतबाट मुद्दा नचलाउने निर्णय कानूनसम्मत रहेको आदेशमा भनिएको छ । ‘रेखाकुमार शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम निकाशा पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट जेठ १६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखाकुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू,’ अदालतको आदेशमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्