नेभिगेशन
राजनीति

कँडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । अधिवक्ता डा. नारायणदत्त कँडेल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा संविधानको धारा १५७(२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आइतबार कँडेललाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बागलुङको काठेखोला–५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका छन् । उनले क्विन्स विश्वविद्यालयबाट पीएचडी उपाधि हासिल गरेका हुन् । पत्रकारिताबाट करिअर सुरु गरेका उनले रेडियो नेपाल, नेपालवाणी साप्ताहिक, राष्ट्रपुकार र राजधानी दैनिकमा काम गरेका थिए । उनी २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका सभापति पनि भएका थिए ।
२०६० असार ३० मा बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएपछि उनले कानुनी क्षेत्रमा सक्रियता बढाएका हुन् । पछिल्लो समय उनी रवि लामिछानेका निजी कानुन व्यवसायीका रूपमा कार्यरत थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कानुन विभागमा समेत आबद्ध थिए ।
कँडेलले एमनेस्टी इन्टरनेसनल, मानव अधिकार शान्ति समाज र फ्रिडम फोरमजस्ता संस्थामा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्