नेभिगेशन
मनोरञ्जन

बलेलाई पाँच दिन हिरासत

हास्य कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । बलात्कारको आरोपमा शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई आइतबार दिउँसो हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएपछि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय पु¥याइएको थियो ।
गत शुक्रबार अमेरिका बस्ने संगम विष्टले बलेमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसकै आधारमा प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । पीडितको तर्फबाट अहिलेसम्म आधिकारिक उजुरी भने परेको छैन । त्यसैले प्रहरीले उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको छ । 
फेसबुक स्टाटसको भरमा उनलाई पक्राउ गरिएकोप्रति भने सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ ।
राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी बिष्टले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् । उनले सागरलाई फेसबुकमा मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन् ।
उनले आफूलाई बलात्कार गर्ने व्यक्ति अहिले घर फर्केर खुलेआम बाँचिरहेको उल्लेख गर्दै लेखेकी थिइन्, ‘आज अलिकति हिम्मत जुटाएर यो लेखेँ । मलाई थाहा छ– मैले न्याय पाउँदिन होला, र अब लड्ने शक्ति पनि बाँकी छैन । तर, जसले मलाई यति ठूलो अन्याय ग¥यो, उसले त्यसको परिणाम भोग्नै पर्छ । भविष्यमा उसले अरू कसैलाई यस्तो गर्न पाउनु हुँदैन ।’
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई शनिबार बिहान बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । फेसबुकमा सागरमाथि बलात्कार आरोप लगाएकी बिष्टले त्यसैका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।  यसपछि सामाजिक सञ्जालमा दोषीलाई कारबाही हुनुपर्ने भन्दै व्यापक आवाज उठेको थियो ।
सागर डेढ दशकदेखि टेलिभिजन शृंखला र फिल्म अभिनयमा सक्रिय छन् । ‘भद्रगोल’ सिरियलमा निभाएको ‘बले’ चरित्रबाट उनी चर्चामा आएका थिए भने नेपाली फिल्म ‘लोफर’बाट फिल्ममा अभिनय शुरु गरेका थिए । त्यसयता ‘लज्जा’, ‘हैरान’ र ‘लाज शरणम्’ फिल्ममा उनले अभिनय गरेका थिए । उनको पछिल्लो फिल्म ‘डल्लेले इन्ट्री मा¥यो’ प्रदर्शनको पर्खाइमा छ । 
यता उनीमाथि बलात्कारको आरोप लाग्नेबित्तिकै बलेलाई फिल्म ‘पाँच पाण्डव’ले आफ्नो फिल्मबाट निष्कासन गरेको छ । लम्सालमाथि फेसबुकमा बिष्टले आरोप लगाउनेबित्तिकै निर्माताले उनलाई फिल्मबाट निकालेका हुन् । निर्माता कम्पनी कालीरानी फिल्म्सले एक विज्ञप्ति जारी गर्दै अब अर्को कलाकार लिएर पुनः छायांकन गरिने जनाएको छ । 
विज्ञप्तिका अनुसार बलेको ९० प्रतिशत दृश्य खिचिसकेको भए पनि अब उनी फिल्मको हिस्सेदार नहुने र उनी संलग्न दृश्यहरू फिल्ममा नराखिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘छायांकनकै क्रममा एक मुख्य कलाकारलाई हटाउनु पर्दा र छायांकन भइसकेका दृश्य पुनः खिच्नु पर्दा निश्चय पनि आर्थिक क्षति हुने नै छ । तर, पीडित युवतीको पीडाका अघि हाम्रो यो क्षतिले कुनै मान्यता राख्दैन ।’
‘पाँच पाण्डव’ जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागरसँगको सम्झौता रद्द गरिएको विज्ञप्तिमा जनाइएको छ । निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझ गर्न जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । 
वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्मको तीन सातादेखि झापामा छायांकन भइरहेको छ । अब बलेलाई हटाइएसँगै फिल्मको पुनः छायांकन गर्नुपर्ने भएको छ । उनको ठाउँमा अर्को कलाकार लिने प्रक्रियामा निर्माण टिम जुटिसकेको छ । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । 
आरोप लगाउने बिष्ट फिल्म उद्योगकै कलाकार हुन् । उनका पिता गजित बिष्ट पनि कलाकार हुन् । उनका काका गम्भीर बिष्ट फिल्म उद्योगका राम्रा नृत्य निर्देशकका रुपमा परिचित छन् । उनले लेखेको फेसबुक स्टाटस भाइरल भएपछि धेरै सञ्चार माध्यमहरुले उनको नाम नखुलाई समाचार बनाएका थिए । त्यसपछि उनले आफ्नो नाम लुकाउनुपर्ने कुनै कारण नरहेको भन्दै नाम खुलाएर समाचार लेख्न फेसबुकमार्फत नै आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन