नेभिगेशन
अर्थतन्त्र

ज्योति विकास बैंकद्वारा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’मार्फत उक्त निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो ।
सप्तरीको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको परिसरमा आयोजित स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच भएको छ । कार्यक्रममा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया भएकामा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको निःशुल्क शल्यक्रिया भएको हो ।
साथै, ४०७ जना बिरामीको शल्यक्रियापश्चात् आवश्यक पर्ने चस्मा र औषधिहरू पनि निःशुल्क प्रदान गरिएको छ । यस पहलमार्फत दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायका सदस्यहरूलाई सहज र गुणस्तरीय उपचार सेवा निःशुल्क उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान दिएको छ । स्थानीयको दिनचर्यामा सहजताका साथै आत्मनिर्भरतामा समेत टेवा पु¥याउने उद्देश्यका साथ बैंकले यस कार्यक्रममा सहकार्य गरेको हो ।
ज्योति विकास बैंकले १७औं वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको थियो । सम्झौताअनुरुप मोतिबिन्दु शल्यक्रिया सम्पन्न गरिएको छ । ज्योति विकास बैंकले आगामी दिनमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको जनाएको छ ।
खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्