नेभिगेशन
मनोरञ्जन

नेपाली फिल्मका जम्मा दर्शक करिब ३८ लाख

विदेशी फिल्म हेर्ने दर्शक संख्या ३३ लाख २२ हजार बढी

काठमाडौं । वैशाख १ देखि चैत १८ सम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये सर्वाधिक आय गर्ने २० फिल्मले करिब दुई अर्ब नजिकको कारोबार गरेका छन्  । यस अवधिमा सबै नेपाली फिल्मले ३७ लाख ८१ हजार ५ सय ४४ वटा टिकट बिक्री गरेका छन्  । यी टिकटबाट नेपाली फिल्मले १ अर्ब ८ करोड ३८ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको चलचित्र विकास बोर्डले जारी गरेको तथ्यांकबाट देखिएको छ ।
बोर्डले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन् । यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन् । यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ ।
वितरण क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखनीय गतिविधि देखिएको छ । बोर्डको विवरणअनुसार ९ वटा नयाँ वितरक दर्ता भएका छन् भने कुल वितरक संख्या ४४ पुगेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्रतर्फ रु. १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार यो वर्ष ४ लाख ५८ हजार ७ सय ७८ दर्शकले स्वदेशी चलचित्र सिनेमा हल गएर हेरेका छन्  ।
सबैभन्दा बढी कमाउने फिल्महरूको सूचीमा कार्तिकको अन्त्यतिर रिलिज भएको ‘परान’ परेको छ  । यस फिल्मले झन्डै साढे १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी वसूल गर्दै वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । करिब ६ लाख ३० हजारभन्दा धेरै टिकट बिक्री गरेको यो फिल्मले ग्रामीण र सहरी दुवै क्षेत्रमा समानरूपमा दर्शक तानेको देखिन्छ । 
माघ १६ मा प्रदर्शनमा आएको ‘आ बाट आमा’ले करिब १३ करोड १३ लाख रुपैयाँभन्दा बढी कमाउँदै वर्षको दोस्रो सर्वाधिक कमाउने फिल्मको स्थान सुरक्षित ग¥यो । पाँच लाखभन्दा बढी दर्शक हलसम्म ल्याएको यो फिल्म अहिले पनि केही हलमा चलिरहेको छ । यो फिल्मले अझै पनि केही रकम थप्ने अनुमान गरिएको छ ।
कात्तिकमा रिलिज भएको ‘जेरी अन टप’ले करिब १२ करोड २८ लाख रुपैयाँभन्दा बढीको आय संकलन गर्दै वर्षको तेस्रो स्थान ओगट्यो । झन्डै चार लाख नजिक टिकट बिक्री गर्दै यो फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवै खालका हलमा लगातार राम्रो ओक्युपेन्सी कायम राख्यो ।  
जेठ २७ मा रिलिज भएको ‘ऊनको स्वीटर’ले करिब ११ करोड ४१ लाख रुपैयाँभन्दा बढी कमाउँदै वर्षको चौथो ठूलो हिट बन्न सफल भयो । झन्डै ३ लाख ९२ हजारभन्दा बढी दर्शक हलसम्म ल्याएको यस फिल्मले वर्ड–अफ–माउथको भरमा लामो समयसम्म शो चलायो । यो फिल्मले भारतमा पनि राम्रो दर्शक पाएको छ । भारतमा यो फिल्मले कति कमायो, सोको जानकारी भने अझै सार्वजनिक गरिएको छैन ।
कात्तिकको पहिलो सातादेखि प्रदर्शनमा आएको ‘जारी २’ले करिब ६ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष पाँचभित्र स्थान सुरक्षित ग¥यो । दुई लाखभन्दा बढी टिकट बिक्री गरेको यस सिक्वेलले पहिलो भागको क्रेजलाई सफलतापूर्वक क्यास गरेको देखिन्छ । 
असोजको दशैंका बेला रिलिज भएको ‘बलिदान’ले करिब ५ करोड १० लाख रुपैयाँभन्दा बढी कमाउँदै वर्षको कमाउने फिल्मको सूचीमा छैटौं स्थानमा उभियो । त्यही दिन रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ले करिब ४ करोड ७१ लाख रुपैयाँभन्दा बढी, र ‘माइतीघर’ले करिब ४ करोड १६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष दसभित्र प्रवेश गरे । 
साउन महिनामा रिलिज भएको ‘मोहोर‘ ले करिब ५ करोड ८८ लाख रुपैयाँ नजिक कमाउँदै वर्षको शीर्ष फिल्ममध्ये सातौं स्थानमा पर्न सफल रह्यो । भदौ ५ मा रिलिज भएको ‘माग्ने राजा’ले करिब ४ करोड ६९ लाख रुपैयाँभन्दा बढी कमाउँदै ग्रामीण बजारमा आफ्नो बलियो प्रभाव प्रमाणित ग¥यो । फिल्मले राम्रो व्यापार गरिरहेका बेला भदौ २३–२४ को आन्दोलनपछि भने यो फिल्मको व्यापार ठप्प हुन पुगेको थियो ।
कात्तिक ६ मा प्रदर्शनमा आएको ‘वरिष्ठ बलराम’ले करिब २ करोड ६० लाख रुपैयाँभन्दा बढी उठाउँदै शीर्ष १५ भित्र स्थान बनायो । त्यही अवधिका ‘नरसिंह अवतार’ले करिब १ करोड ८२ लाख रुपैयाँभन्दा बढी, ‘कोशेढुंगा’ले करिब १ करोड ७२ लाख रुपैयाँभन्दा बढी, र ‘रीमाई’ले करिब १ करोड ३८ लाख रुपैयाँभन्दा बढी कमाउँदै वर्षको सफल व्यावसायिक फिल्मको सूचीमा नाम लेखाए ।  
पुस अन्त्यतिर रिलिज भएको ‘झरी पछिको इन्द्रेणी’ले करिब १ करोड २८ लाख रुपैयाँभन्दा बढी, ‘जनै हराएको मान्छे’ले करिब १ करोड २३ लाख रुपैयाँभन्दा बढी र ‘मैझारो’ले करिब १ करोड ४८ लाख रुपैयाँ नजिक कमाउँदै वर्षको शीर्ष २० भित्र पर्न सफल भए । त्यस्तै जेठको ‘महाभोज’ले करिब ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै, सानो लागतमा मध्यम तर स्थिर व्यापार गर्ने फिल्मको उदाहरण बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन