नेभिगेशन
अर्थतन्त्र

स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कायम रहेको श्रम शोषण र न्यून पारिश्रमिकको समस्यालाई सम्बोधन गर्ने प्रयासस्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज तथा अस्पतालहरूलाई नर्ससहितका स्वास्थ्यकर्मीलाई न्यूनतम तलब र सेवा सुविधा सुनिश्चित गर्न निर्देशन दिएको छ । यसले स्वास्थ्य क्षेत्रभित्रको श्रम असमानता नियन्त्रणतर्फ प्रभावकारी काम हुने आशा गरिएको छ ।
मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एशोसिएशन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), नेपाल मेडिकल तथा डेण्टल कलेज एसोसिएशनलाई हालै एक पत्र जारी गर्दै सरोकारवाला पक्षहरूसँग गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।
सम्झौताअनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालहरुमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारको कम्तीमा पाँचौं तहको सुरु तलब स्केल हालको ३४ हजार ७ सय ३० रुैपैयाँ कात्तिक महिनादेखि नै दिने र अन्य निजी तथा सामुदायिक अस्पतालहरू तथा डेण्टल कलेजहरुले हालको तलब ३४ हजार ७ सय ३० को ८० प्रतिशत तलब उपलब्ध गराउनुपर्ने भनिएको थियो । पत्रमा सहमतिअनुसार पारिश्रमिक नदिइएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार १ लाखभन्दा बढी नर्स दर्ता छन् । तर ती सबै सक्रिय छैनन् । कोही विदेश गएका छन् भने कोही अवकाश, बेरोजगार आदि कारणले निष्क्रिय छन् । तीन वर्षअघिको एक अध्ययन अनुसार करिब ४८ हजार नर्स सक्रिय रूपमा काम गरिरहेका छन् । ती मध्ये करिब १५ हजार सरकारी क्षेत्रमा छन् भने १७ देखि २० हजार निजी अस्पतालमा सक्रिय छन् । त्यस्तै नर्सिङ शिक्षणमा ५ हजार नर्स संलग्न छन् भने १२ देखि १५ हजार बेरोजगार रहेको अनुमान छ ।
सरकारी नर्स (स्टाफ नर्स) को तलब निजामती सेवा तलब संरचना ५औं तह अनुसार हुन्छ ३४ हजार ७ सय ३० प्रतिमहिना छ । विभिन्न भत्ता र सेवा जोड्दा सरकारी अस्पतालका नर्सले न्यूनतम ४५ हजार पाउँछन् । तर, निजी अस्पतालले भने झण्डै २५ हजार हाराहारीमा नर्सहरुलाई काम लगाउँदै आएका छन् । अझ कतिपय अस्पतालले त्यती पैसा पनि दिँदैनन् भने काठमाडौं बाहिरका निजी अस्पतालले १२ देखि १५ हजारमा नर्सहरुलाई काममा लगाउँदै आएको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्