नेभिगेशन
राजनीति

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मन्त्रीहरूको मर्यादाक्रम(वरीयता) हेरफेर गराएका छन् । चैत १३ गते मन्त्री बनेकाहरूको वरीयता मंगलबार शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हेरफेर गरेका हुन् ।
प्रधानमन्त्री शाहपछि दोस्रो वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले नै छन् ।  तर, यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौं नम्बरमा राखिएको छ । त्यस्तै, यसअघि चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा ल्याइएको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई पनि चौथो वरीयतामा ल्याइएको छ । उनी यसअघि छैटौं नम्बरमा थिए । यसअघि पाँचौं नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री सुनिल लम्साललाई छैटौंमा राखिएको छ । खनाल र श्रेष्ठ यसअघि नै मन्त्री भइसकेका थिए ।  त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं नम्बरमा छिन् ।
त्यस्तै, यसअघि मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई माथि ल्याइएको छ । उनको वरीयता आठौं नम्बरमा छ । अहिले वरीयताको पुछारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई राखिएको छ । 
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल नवौं र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता दशौं वरीयतामा छिन् ।  शिक्षा,विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पाखरेल ११औं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल १२औं, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना १३औं, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरी १४औं र श्रम मन्त्री साह १५औं वरीयतामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्