नेभिगेशन
मनोरञ्जन

वर्कोहोलिक ‘बिग बी’

बलिउडका महानायक अमिताभ बच्चन, जो उमेरले आठ दशक पार गरिसक्दा पनि युवा पुस्ताका कलाकारलाई माथ दिने जोस र जाँगर राख्छन् । सधैं ऊर्जावान् देखिने ‘बिग बी’भित्र एउटा अर्कै डर लुकेको छ – त्यो हो ‘कामविहीन हुनुको डर ।’
आफ्नो आधिकारिक ब्लगमा मनका कुरा पोख्दै अमिताभले आफूलाई ‘कामको नशा’ (वर्कोहोलिक) रहेको स्वीकार गरेका छन् । उनले लेखेका छन् कि यदि कुनै दिन उनको हातमा काम हुँदैन वा उनी सुटिङ सेटमा जाँदैनन् भने उनलाई मानसिक रूपमा निकै गाह्रो हुने गर्दछ ।
बेचैनी र दिशाहीनताको महसुस अमिताभका अनुसार, हरेक दिन बिहान उठेर काममा जाने तालिका नहुँदा उनलाई छटपटी (एन्जाइटी) हुने गर्दछ । ‘जब म काम गरिरहेको हुँदिन, मलाई लाग्छ म कतै हराइरहेको छु । म दिशाहीन महसुस गर्छु,’ उनले ब्लगमा लेखेका छन्, ‘मेरो लागि काम केवल जीविकोपार्जन होइन, यो मेरो अस्तित्व जोगाउने आधार बनेको छ ।’
उनले खाली समयमा मस्तिष्कले रचनात्मक काम खोजिरहन्छ र केही नपाउँदा एक प्रकारको रिक्तता महसुस हुने उल्लेख गरेका छन् । ८३ वर्षको उमेरमा पनि विश्राम लिनुको साटो नयाँ प्रोजेक्ट र सुटिङको तालिकाले नै आफूलाई जीवित र सक्रिय राख्ने उनको भनाइ छ ।
अमिताभको यो इमानदार स्वीकारोक्तिले भारतीयमाझ सामाजिक सञ्जालमा बहस सुरु गराएको छ । कतिपयले यसलाई कामप्रतिको समर्पणको उत्कृष्ट नमुना मानेका छन् भने कतिपयले यो उमेरमा उनले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यलाई बढी प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । अमिताभ बच्चन अहिले पनि टेभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नयाँ सिजन, केही ठुला ब्यानरका फिल्म र विभिन्न ब्रान्डका विज्ञापनमा व्यस्त छन् । उनी बलिउडका ती विरलै कलाकारमा पर्छन्, जसले सन् १९६९ मा ‘सात हिन्दुस्तानी’ बाट सुरु गरेको यात्रा आज सन् २०२६ सम्म आइपुग्दा पनि उत्तिकै प्रभावका साथ निरन्तर जारी राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन