नेभिगेशन
मनोरञ्जन

अफसेटमाथि गोली प्रहार

अमेरिकी चर्चित -यापर अफसेटमाथि गोली प्रहारको घटना भएको छ । सोमबार फ्लोरिडामा गोली लागेर घाइते उनी हाल अस्पतालमा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उनका प्रवक्ताले बताएका छन् । अमेरिकी संगीत जगतलाई स्तब्ध बनाएको उक्त घटनाको विस्तृत विवरण भने अझै खुलाइएको छैन । 
घटना सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनो हलिउड बाहिरको भ्याले क्षेत्रमा साँझतिर भएको बताइएको छ । सेमिनोल प्रहरी विभागका अनुसार गोली चलेको एउटा घटनामा एक जनालाई चोट लागेको थियो, तर आधिकारिक रूपमा ती घाइते व्यक्ति अफसेट नै हुन् भनेर पुष्टि गरिएको छैन । घटनापछि दुई जनालाई नियन्त्रणमा लिइएको छ र प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीले स्थान सुरक्षित रहेको र सर्वसाधारणका लागि कुनै खतरा नरहेको जनाएको छ ।
३४ वर्षीय अफसेट, जसको वास्तविक नाम कियारी केन्ड्रेल सेफस हो । उनी अमेरिकी हिपहप समूह मोगोसका सदस्यका रूपमा विश्वभर चिनिन्छन् । मिगोसका अर्का सदस्य तथा अफसेटका आफन्तसमेत पर्ने टेकअफको २०२२ मा गोली लागेर मृत्यु भएको थियो, जसले हिपहप समुदायलाई स्तब्ध बनाएको थियो । पछिल्लो घटनाले फेरि एकपटक कलाकारहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।
मिगोस समूहले २०१३ मा सार्वजनिक ‘भर्सेस’ गीतबाट ठूलो सफलता हासिल गरेको थियो, जसले उनीहरूलाई मुख्यधारको संगीतमा स्थापित गरायो । त्यसपछि ‘ब्याड एण्ड बौजी’ र ‘वाक इट वाक’ जस्ता गीतहरू निकै लोकप्रिय बने । ‘ब्याड एण्ड बौजी’ गीतले बिलबर्ड चार्टमा शीर्ष स्थान हासिल गर्दै समूहलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरायो ।
मिगोसले २०१८ मा निकालेको ‘कल्चर’ एल्बमका लागि ग्रामी अवार्डमा मनोनयन समेत पाएको थियो । अफसेट आफ्नो फरक शैली, ट्रिप्लेट फ्लो र फेसन सेन्सका कारण युवा पुस्तामाझ निकै लोकप्रिय मानिन्छन् । उनले एकल कलाकारका रूपमा पनि ‘फादर अफ फोर’ एल्बमार्फत आफ्नो व्यक्तिगत जीवन र संघर्षलाई प्रस्तुत गरेका छन् ।
अफसेटले चर्चित ¥यापर कार्डी बीसँग २०१७ मा गोप्य रूपमा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् । यद्यपि, २०२४ मा  कार्डी बीले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन