नेपाल आइडलको छैटौं शृंखलाको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार हात पारेकी छन् । उनलाई सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले अवार्ड र रकमको चेक प्रदान गरेका थिए ।
काठमाडौंमा आइतबार आयोजित एक विशेष ग्रान्ड फिनालेमा विजेता घोषित गरिएको थियो । सो अवसरमा मन्त्री गुरुङले गाउँगाउँमा लुकेर बसेका सुपरस्टारहरूलाई प्रस्फुटित गर्न नेपाल आइडलले खेलेको भूमिकाका लागि धन्यवाद दिए ।
उनले नेपाल आइडललाई सबै रियालिटी कार्यक्रमहरू मध्येको हिरो भएको बताउँदै यो कार्यक्रमको सफलतापछि नै यस्ता रियालिटी कार्यक्रम बन्न थालेको स्मरण गराए । यस पटकको नेपाल आइडलमा सबैभन्दा रोचक चाहिँ विजेता र रनरअपहरू तीन जना नै महिला नै भएका थिए ।
आइडलमा दोस्रो स्थान पविता थापामगरले हात पारेकी थिइन् । सिक्किमकी पविताले १० लाख रुपैयाँ पुरस्कार हात पारेकी छन् । यसैगरी तेस्रो स्थान दर्शना गान्धारीले प्राप्त गरिन् । उनले पाँच लाख रुपैयाँ प्राप्त गरिन् । यसैगरी विभिन्न प्रायोजकहरूले पनि विजेता र सहविजेतालाई विविध पुरस्कारहरू प्रदान गरेका थिए ।
कार्यक्रमका रियालिटी प्रोड्युसर सिजन श्रेष्ठले यस पटक तीन जना फाइनलिस्टहरू महिला भएकामा सुखद आश्चर्य प्रकट गरे । उनले भने, ‘हुन त यसअघि पनि सज्जा चौलागाईं नेपाल आइडल हुनु भएको हो तर यस पटक तीन जना गायिका सिधै विजेता समूहमा पर्नुभयो ।’
अघिल्ला शो भन्दा यो राम्रो भएकोमा उनी सन्तुष्ट देखिए । ‘यसको ग्रान्ड फिनालेको टिकट निकै महँगो थियो र पनि दर्शक निकै थिए,’ उनले भने, ‘त्यो उत्साह देखेर नेपाल आइडलको क्रेज रहेछ भन्ने थाहा भयो ।’ त्यसो त सामाजिक सञ्जालमा शो सिजन शुरु हुनेबित्तिकै राम्रै चर्चा बटुलिरहेको थियो । खासगरी गंगा सोनामको गायनलाई शुरुदेखि नै दर्शकस्रोताले रुचाएका थिए ।

यतिबेला अन्य गायन रियालिटीहरू पनि टेलिभिजनमा देखा परेका छन्, तिनीहरूभन्दा आइडलमा दर्शक र प्रतिस्पर्धीहरूको चासो बढी भएको समेत श्रेष्ठले बताए । उनले भने, ‘कतिपय प्रतिस्पर्धीहरू नेपाल आइडल शुरु हुने भएपछि त्यता छाडेर यता आउनुभयो जबकि आइडलले कति पुरस्कार दिन्छ भन्ने एक हप्ताअघिसम्म कसैलाई पनि जानकारी थिएन ।’
‘जसलाई करियरको ध्याउन्न हुन्छ, उसले आइडल छान्छ,’ उनले भने, ‘प्रतिस्पर्धीलाई पैसाको अपेक्षा भन्दा पनि आइडलको टाइटलमा बढी चासो देखेँ ।’ छैटौं सिजनसम्म आइपुग्दा एकपछि अर्का राम्रा प्रतिस्पर्धीहरू आउन थालेको संगीतकार न्ह्यू वज्राचार्यले बताए ।
‘हामीकहाँ भर्सटाइल र निकै प्रतिस्पर्धी नयाँ पुस्ता आए । यस पटक त झन् धनी घरमा जन्मियो भने जितिन्छ भन्ने भ्रम पनि मेटियो,’ निर्णायक वज्राचार्यले भने, ‘साँच्चिकै गला राम्रो भयो भने जुनसुकै ठाउँमा जन्मिएको भए पनि जित्न गाह्रो नहुने रहेछ भन्ने विश्वास यस पटकको आइडलले दिएको छ ।’
आइडल जितेकी २० वर्षीया इन्द्रावती गाउँपालिका १०, बडहरेकी उनले हालै १२ कक्षा पास गरेकी छन् । रियालिटी प्रोड्युसर श्रेष्ठ भन्छन्, ‘गंगाले सिन्धुपाल्चोकको दुर्गम गाउँबाट आएर यो जित्नु ठट्टाको विषय होइन । भर्खरै मात्र उनको गाउँसम्म पुग्ने बाटो पुगेको थियो ।’ उनको घरमा टीभी छैन । परिवारले अधिकांश समय मोबाइल र टिकटकबाटै उनको प्रस्तुति हेरेको थियो ।
यस पटकको सिजनमा तीन जना छोरीले नै टाइटल हात पार्दा अहिलेका छोरी पनि कम छैनन् भन्ने प्रमाणित भएको श्रेष्ठले बताए । यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार नेपाल आइडल बनिसकेका छन् ।