नेभिगेशन
अर्थतन्त्र

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी

सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धानको लागि भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । 
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासमा आक्रमणमा परेका उनीहरु दुवै जनालाई घाइते अवस्थामा सेनाले उद्धार गरेको थियो । फागुन १४ गते थप उपचारका लागि सिंगापुर गएका उनीहरु त्यतैबाट थप उपचारका लागि भन्दै हङकङ गएका थिए । देउवा दम्पती हाल हङकङमै रहेको पारिवारिक स्रोतले जनाएको छ । 
बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ । देउवाले भने आफ्नो घरमा जलेको पैसा भन्दै आएको भिडियो एआइ भएको बताएका थिए । जेनजी आन्दोलनमा आगजनी भएपछि देउवा निवास भत्काइएको थियो । बालेन शाह नेतृत्वको सरकार आएपछि प्रशासनले घर भत्काउँदा प्रमाण नष्ट हुनसक्ने भन्दै भत्काउन रोकेको थियो । यसअघि बुढानिलकण्ठस्थित घरमा पैसा भेटिएकै विषयलाई लिएर पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान जारी छ । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउने गृहकार्य भइरहेको छ ।  इन्टरपोलसँग समन्वय गर्नका लागि अदालती कागजात चाहिने भएकाले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको हो । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउँछ । गृह स्रोतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिन्छ । त्यसको औपचारिक प्रक्रिया पक्राउ पुर्जीबाट सुरु हुन्छ । 
नोटिस जारी भएमा इन्टरपोलमा रहेका १ सय ९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ । 
जेनजी आन्दोलनका क्रममा उनको निवासमा भेटिएको डढेको पैसा, देउवा पुत्र जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा खरिद भएको करिब ७३ रोपनी जग्गा र आरजु राणको नक्कली भुटानी शरणार्थी काण्डमा नाम मुछिएको विषयमा सरकारको चासो देखिएको छ । शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको पनि स्रोतको दाबी छ । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले आरजुका भाइ भूषण राणाको निवासमा छापा समेत मारेको थियो । 
देउवा निकट नेता मीन विश्वकर्माले कुनै पनि कानुनी आरोप लागेको आधारमा छानविन गर्न खोजिएको हो भने विधिसम्मत हुनुपर्ने बताए । ‘उहाँ नफर्किने भन्ने हुँदैन । अहिले उपचारका क्रममा रहेकाले उपचार सकेपछि आउनुहुन्छ । यसबाट स्केप हुनुहुन्छ भन्ने म कल्पना पनि गर्दिन,’ उनले भने, ‘देउवा वचनको पक्का, निडर, निर्भिक नेता हो ।  राजनीतिक, कानुनी तथा अहिलेको यो सबै गतिविधिलाई प्रतिवाद गर्न उहाँ तयार हुनुहुन्छ मेरो विश्वास छ ।’ उनका अनुसार देउवाको उपचार अझै एक साता लाग्ने भएकाले त्यसपछि उनी नेपाल फर्कनसक्ने बताए ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने नेपाल फर्केर अनुसन्धानमा सघाउन देउवालाई आग्रह गरेका छन् । ‘कुनै पनि भ्रष्टाचारका काण्डमा पार्टीका जतिसुकै ठूला नेता परे पनि निष्पक्ष र स्वतन्त्ररुपमा हुने अनुसन्धानमा पार्टीले सहयोग गर्छ,’ महामन्त्री पौडेलले भने,‘राजनीतिक प्रतिशोधको आधारमा नभएर कानुन र प्रक्रिया सम्मत होस् भन्ने हाम्रो माग हो ।’
‘भ्रामक र झुटा प्रचारबाजी ’
नेपालमा पक्राउ पुर्जी जारी भएको खबरपछि देउवा बोलेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट उनले आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गरेका छन् । 
‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’
फेसबुकमा देउवाले आफू सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको समेत जनाएका छन् । देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको भन्दै देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको बताएका छन् । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न आफू गृहमन्त्री रहँदा ०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन ०५९ लागू भएको सन्दर्भ पनि उनले गरेका छन् । देउवाले अनुसन्धानमा सघाउने विषय भने उल्लेख गरेका छैनन् । 
ओली र प्रचण्डका स्वकीय निसानामा
एमाले अध्यक्ष केपी ओली हाल प्रहरी हिरासतमा छन् । कांग्रेसका पूर्वसभापति देउवाविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । सरकार निकट स्रोतअनुसार गणतन्त्र घोषणापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईमाथि पनि अनुसन्धान जारी छ । जेनजी आन्दोलनमा पैसा भेटिएकाले प्रचण्डसहित उनी प्रधानमन्त्री रहँदाकी स्वकीय उनकी पुत्री गंगा दाहाललाई पनि सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान अघि बढ्न सक्ने स्रोतको दाबी छ । त्यस्तै, ओलीका स्वकीय राजेश बज्राचार्यमाथि पनि प्रहरीले निगरानी बढाएको छ । सीआईबीको अनुसन्धानमा नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा बज्राचार्यको नाम मुछिएको छ । बज्राचार्यकी पत्नी रश्मी शाक्यको नाममा भक्तपुरमा घर किन्दा उक्त घुसबापत लिएको सीआईबीको दाबी छ । सोही मुद्दामा बज्राचार्यलाई पनि अनुसन्धानमा तान्ने तयारी भइरहेको गृहस्रोतले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र