नेभिगेशन
राजनीति
रास्वपाको शीर्ष तहमा बाझियो राय

उपसभामुखमा रुबीलाई ‘सरप्राइज’

उपसभामुखमा श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद २५ वर्षीया ठाकुर निश्चित

काठमाडौं । वैकल्पिक शक्तिका रुपमा यसैपटकको निर्वाचनबाट उदाएको दल श्रम संस्कृति पार्टीले संसद्को प्रभावशाली पद पाउने पक्का भएको छ । उक्त दलको समानुपातिकतर्फकी सांसद् २५ वर्षीया रुबीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी हुन् । 
सत्ता सञ्चालनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष तहमा बढेको चिसोसँगै रुबीले ‘सरप्राइज’ पाउने निश्चित भएको हो । रुबीको चयनले संसद्को गतिविधिमा पार्टी सभापति रवि लामिछानेमाथि प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता बालेन्द्र शाह हाबी भएको देखिएको छ । 
उपसभामुखको उम्मेदवारीमा कसलाई समर्थन गर्ने भन्नेमा रास्वपामा दुई धार देखिएको थियो । सभापति लामिछानेले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्ने बताए पनि शाह तयार नहुँदा श्रम संस्कृति पार्टीको पक्षमा उभिन लामिछाने बाध्य बनेका छन् । श्रम संस्कृतिका तर्फबाट बिहीबार रूबीकुमारी ठाकुरले उम्मेदवार बनेकी छन् । रास्वपाको समर्थनपछि ठाकुर उपसभामुख निर्वाचित हुने पक्का देखिएको छ । 
लामिछानेले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि राप्रपाकी सांसद सरस्वती लामाले बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । राप्रपा  संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति लामिछानेले फोन गरेर उम्मेदवारी दर्ता गर्न भनेपछि नै आफूहरूले उम्मेदवारी दर्ता गर्न पुगेको बताए । यसअघि खुश्बु ओलीलाई उपसभामुखमा अघि सार्ने तयारी गरेको राप्रपाले लामिछानेले खसआर्य समुदायबाट सभामुख चयन भएकाले जनजातिबाट उपसभामुख भए राम्रो हुने बताएपछि लामालाई उम्मेदवार बनाएको थियो । 
तर, उम्मेदवारी दर्ता गर्ने क्रममा माहोल बदलिइसकेको थियो । राप्रपाले उम्मेदवारी दर्ता गरिरहेकै बेला रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी, सांसद अशोक चौधरी र झविलाल डुम्रे श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरको साथ लागेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । प्रधानमन्त्री निकटका अनुसार शाहकै ‘ग्रिन सिग्नल’ पछि श्रम संस्कृति पार्टीले ठाकुरलाई उपसभामुखमा अघि सार्न तयार भएको थियो । ‘पार्टीमा छलफल पश्चात् यो निर्णय भएको हो । अब छलफल संवादको हिसाबमा त हामी प्रस्ताव गर्ने हामी सबै दलहरूसँग छलफल गरेका थियौं । हामी अन्तिम क्षणसम्म हेर्दै थियौं । हामी पार्टीसँगसँगै उम्मेदवारहरू पनि हेर्ने भएको हिसाबले यो निर्णय लिएका हौं,’ रास्वपा महामन्त्री बुर्लाकोटीले भने । मधेशकी ठाकुर उपसभामुख बन्नु राम्रो हुने भन्दै उनले आफूहरूले पार्टी र उम्मेदवार दुवै हेरेर ठाकुरलाई समर्थन गरेको बताए ।
रास्वपाभित्र मन्त्रिपरिषद् विस्तारकै बेलाबाट लामिछाने र शाहबिच केही विषयमा राय बाझिएको रास्वपा स्रोत बताउँछ । सभापति लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेपनि शाह त्यसमा तयार भएनन् । शाहकै अडानपछि सुदन गुरूङ गृहमन्त्री बनेका थिए । पछि अर्याल सभामुख नियुक्त भए । ‘पार्टी सञ्चालनमा सभापतिज्यूले नै गर्नुहोस् भन्ने उहाँको चाहना देखिन्छ । तर, सरकार सञ्चालन आफ्नै ढंगले गरौं भन्ने संसदीय दलको नेता शाहको बुझाइ छ,’  बालेन निकट एक नेताले भने । 
रास्वपाको भर परेर उपसभामुखमा तयारी गरेका राप्रपा र श्रम संस्कृतिमा बालेनले हर्कको साथ रोज्दा रुबीले ‘सरप्राइज’ पाउने भएकी हुन् । श्रम संस्कृति पार्टीको संस्द्मा सात सिट छ । यही पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर उपसभामुख बन्ने सुनिश्चित देखिएको छ । किनकी रास्वपाको समर्थन पाउनेबित्तिकै उनको पक्षमा संसद्को दुई तिहाईभन्दा बढीको समर्थन हुनेछ ।  प्रतिनिधिसभामा रास्वपाले पार्टी उपसभापति डीपी अर्याललाई सभामुख बनाइसेकको छ । रास्वपाबाट सभामुख भएकाले संवैधानिक प्रावधान अनुसार  अर्को दल र लिंगको व्यक्तिलाई उपसभामुख हुनुपर्छ । हर्कराज राईको दलकी रुबीलाई ल्याउँदा मधेशको प्रतिनिधित्व पनि बलियो हुन्छ ।  २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२, कांग्रेसका ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राप्रपा का ५ सांसद् छन् । कांग्रेसले पनि रुबीलाई समर्थन गर्ने भएपछि उनको पक्ष बलियो देखिएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्