नेभिगेशन
राजनीति

उपसभामुखद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति भवनमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिइन् । 
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।
श्रम संस्कृति पार्टीबाट सांसद रहेकी ठाकुर प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
उनले प्रतिनिधिसभाका कुल उपस्थित २५६ मध्ये २२९ सदस्यको मत पाएकी थिइन् । उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामासमेत प्रतिस्पर्धामा थिइन् । उनले जम्मा पाँच मत प्राप्त गरिन् । ठाकुरलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका थिए । नेकपा (एमाले)ले भने उपसभामुखको निर्वाचनमा तटस्थता देखाएर कुनै मत दिएन । 
सदनमा  भएको मत विभाजनको प्रक्रियामा २२ सांसद अनुपस्थित थिए । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्दै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित भएको जानकारी गराएका थिए ।
धेरैले ठाकुरको उपसभामुख पद सरप्राइजका रूपमा व्याख्या गरिरहेका छन् । किनभने श्रम संस्कृति पार्टीको संसद्मा सात सिट मात्र छ । प्रधानमन्त्री बालेन्द्र शाहले महŒवपूर्ण पदहरूमा पुराना पार्टीहरूको उपस्थिति नचाहेको देखिन्छ ।
उपसभामुख ठाकुरका पिता सोगराथ ठाकुर वैदेशिक रोजगारमा छन् भने आमाको नाम रेणु घरायसी काम गर्छिन् ।
पहिले सोगराथ ईट्टाभट्टमा काम गर्दै आएका थिए । हाल उनी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्