नेभिगेशन
मनोरञ्जन

माइक्रो–ड्रामालाई एआईले बनायो सस्तो, सरकारले लगायो अंकुश

 

ओरेन्ज क्याट ताओइस्ट प्रिस्टः फाइटिङ द जोम्बी किङ’ नामक एनिमेटेड शृंखलामा, एउटा लामो लुगा लगाएको बिरालोले जादुई जन्तर र लेजर पासाको प्रयोग गरेर डरलाग्दा ‘जिउँदा लाश’ (जोम्बी) बिरालाका बच्चाहरूसँग युद्ध गर्छ । बिरालोका यी साहसिक कथाहरू दर्जनौँ दुई मिनेटका शृंखलाहरूमा उपलब्ध छन्, जसलाई ‘माइक्रो–ड्रामा’ भनिन्छ । यो मनोरञ्जनको यस्तो रूप हो जसले परम्परागत टिभी शो र सोसल मिडियाका स्क्रोल गर्न मिल्ने पोस्टहरूलाई मिश्रण गर्छ । बोल्ने बिरालाहरू समावेश भएका ‘एआई–एनिमेटेड’ सप–ओपेराहरू सुन्दा सामान्य लागे पनि चीनमा यसले निकै ठूलो चर्चा पाएको छ । यो ताओवादी गुरु बिरालोले मात्रै पाँच लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।
चीनको मनोरञ्जन उद्योगलाई अहिले यो माइक्रो–फर्म (छोटो रूप) ले हल्लाइदिएको छ । गत वर्षको तुलनामा जनवरीमा लामो ड्रामा हेर्ने कुल समय १५ प्रतिशतले घटेको छ भने टिकटकको मातृ कम्पनी बाइटडान्सकै माइक्रो–ड्रामा एप ‘रेड फ्रुट’ हेर्ने समय दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
यसको व्यावसायिक मोडेल लागतलाई आक्रामक रूपमा कटौती गर्ने रणनीतिमा आधारित छ । ‘लाइभ–एक्सन’ (मानिसले अभिनय गर्ने) संस्करणहरूले सौखिन कलाकार र सामान्य सेटहरू प्रयोग गर्छन् तर नयाँ एआई–एनिमेसन उपकरणहरूले तिनलाई पनि उछिनेका छन् । एचएसबीसी बैंकका विश्लेषकहरूका अनुसार, पछिल्लो एक वर्षमा एआईको व्यापकताले उत्पादन लागत ९० प्रतिशतसम्म घटाउन सम्भव बनाएको छ । उद्योगका भित्री व्यक्तिहरू भन्छन्– केही क्षेत्रहरूमा सुटिङ हुने लाइभ–एक्सन माइक्रो–ड्रामाको संख्या ८० प्रतिशतले खुम्चिएको छ भने कलाकारहरूको पहिले नै न्यून रहेको पारिश्रमिक आधाले घटेको छ । एक निर्माताका अनुसार अप्रिलको सुरुतिर चीनमा एआई प्रयोग नगरिएका निकै कम माइक्रो–ड्रामाहरू मात्र खिचिरहेका थिए ।
तर एआई प्रकारका यस्ता शृंखलाहरूले अहिले चुनौतीको सामना गरिरहेका छन् । अप्रिल १ देखि नियामकहरूले पहिले नै अनुमति नपाएका सबै एनिमेटेड माइक्रो–सिरिजहरूलाई अनलाइन प्लेटफर्मबाट हटाउन निर्देशन दिएका छन् । अब नयाँ शृंखलाहरू अनलाइनमा रिलिज गर्नुअघि स्वीकृतिको लागि दर्ता हुनैपर्ने प्रावधान राखिएको छ ।
यस मोडेलका अन्य समस्याहरू पनि स्पष्ट हुँदै गएका छन् । एउटा त अत्यधिक प्रतिस्पर्धा हो । चीनमा यति धेरै एआई माइक्रो–ड्रामाहरू उत्पादन भइसकेका छन् कि, कम बजेटमा बने पनि, पैसा कमाउन पुग्ने गरी भ्युज पाउने शृंखलाहरू कम हुँदै गएका छन् । अर्को समस्या मनोरञ्जनको प्रकृति नै हो । मानिसहरूलाई यस्ता छोटा ड्रामाका पात्रहरूसँग भावनात्मक सम्बन्ध गाँस्न गाह्रो हुन्छ, जसले गर्दा दर्शकहरू त्यति वफादार हुँदैनन् ।
चीनका टेक दिग्गजहरूले आफूलाई अनुकूल बनाउने प्रयास गरिरहेका छन् । तीमध्ये एक अलिबाबाले ‘द डेमन हन्टर’ नामक लामो एनिमेटेड शृंखलाको नयाँ सिजन सुरु गरेको छ । यसका एक करोडभन्दा बढी फलोअर्स छन् । दर्शकहरूको ध्यान तान्ने यो महायुद्धमा लामो ड्रामाहरूको सम्भावना अझै बाँकी नै देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन