नेभिगेशन
राजनीति

कांग्रेस अनुशासन समितिको बैठकले के गर्ला ?

वडा पुगेर गगनले गराए क्रियाशील अद्यावधिक, इतरले नगर्ने

काठमाडौं । इतरपक्षमाथि कारवाहीको संकेत गरेको नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको बैठक इतरपक्षको पछिल्ला गतिविधिमा केन्द्रीत हुने बताइएको छ । अनुशासन समितिको बैठकलगत्तै केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो सानेपामा बस्नेछ । 
अनुशासन समितिले यसअघि नै पार्टीभित्र जारी समानान्तर गतिविधिलाई संकेत गर्दै कारवाहीको चेतावनी दिइसकेको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले थापाको वैधानिकतामा प्रश्न उठाइरहेको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले फैसला नआउँदासम्म थापा नेतृत्वको समितिलाई नमान्ने इतरपक्षले बताइरहेको छ । इतरपक्षका नेता मीन विश्वकर्माले कांग्रेसमा अदालतको फैसला नआउँदासम्म २ जना सभापति छन् भनेर सार्वजनिक रुपमै आफ्नो पक्षको धारणा राखिसकेका छन् । 
तर, सभापति थापा पक्ष भने निर्वाचन आयोगले वैधता दिएकाले थापाकै समिति वैध रहेको मान्छ । खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरिरहेपछि केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले उनलाई सचेत गराएको थियो । 
‘नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाई आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ,’ अनुशासन समितिले भनेको थियो । 
तर, सोमबार खड्काले पुनः कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गर्दै संस्थापनपक्षलाई चुनौती दिएका छन् । मंगलबार सभापति थापाले पुनः खड्काको विज्ञप्तिमा सांकेतिक असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालयभन्दा बाहिर हुने अनधिकृत गतिविधिको पनि सीमा हुने र त्यो सीमाभन्दा बाहिर गएर कसैले अनधिकृत गतिविधि गरे सहन नसक्ने बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले भने, ‘अब धेरै खिचपिच नगर्न सबैलाई अनुरोध गर्छु । पार्टीको कार्यालयभन्दा बाहिर हुने अनधिकृत गतिविधिहरूको सीमा हुन्छ, सीमाभन्दा बाहिर गए सहन सक्ने कुरा हुन्न ।’
सभापति थापाको यस्तो अभिव्यक्ति आउनुलाई कतिपयले बुधबार बस्ने अनुशासन समितिको बैठकबाट कारवाही हुने संकेतका रुपमा हेरेका छन् । ‘सचेत गराउँदा पनि उल्लंघन गरेकाले कारवाही गर्नुपर्छ भन्ने मत समिति पनि बलियो छ । औपचारिक निर्णय बैठकबाटै गर्छौ,’ अनुशासन समितिका एक सदस्यले भने । 
थापाको क्रियाशील अद्यावधिक
सभापति थापाले काठमाडौंको ३० नम्बर वडा इकाई कार्यालयमा उपस्थित भएर आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराउँदै क्रियाशील अद्यावधिक कार्यक्रमको शुुरूवात गरेका छन् । नयाँ वर्षसँगै पार्टीको संगठन सुदृढिकरणका लागि कांग्रेसले ‘जरा’ अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक पनि हुनेछ ।
कांग्रेस सभापति थापाले चैत २५ गते मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा केन्द्रीय समितिले पार्टीका सबै क्रियाशील सदस्यता खारेज गरेको बताएका थिए । ‘अस्तिको केन्द्रीय समितिको निर्णयबाट हामीले नेपाली कांग्रेस पार्टीको सबै क्रियाशील सदस्यता खारेज गरेका छौं,’ थापाले भनेका थिए, ‘सबै खारेज भयो । अब क्रियाशील सदस्यता छैन ।’  सभापति थापाको उक्त अभिव्यक्तिपछि कांग्रेसको संस्थापनइतर समूहले आपत्ति जनाएको थियो । सोमबार कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरप्याडमै पूर्णबहादुर खड्काले क्रियाशील खारेज भन्नु अवैधानिक हुने बताएका थिए । 
कांग्रेसको क्रियाशीलको अहिलेको विवाद महाधिवेशनसँग जोडिएको छ । थापाले क्रियाशील सदस्यता अध्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भनेपछि इतरपक्ष झस्किएको छ । 
खड्काले आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेपछि महामन्त्री गुरुराज घिमिरेले सोमबार नै क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको प्रष्ट्याएका थिए । पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाइएको संस्थापन पक्षको भनाइ छ । 
तर, इतरपक्षले भने विशेष महाधिवेशनअघि नै नियमित महाधिवेशनका लागि क्रियाशील नवीकरण भइसकेकाले अहिले अद्यावधिक किन गर्ने ? भन्दै प्रश्न उठाएको छ । इतरपक्षले जरा अभियानमा सहभागी नहुने र क्रियाशील अद्यावधिक गर्न नजाने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति