समयसँगै प्रेम गर्ने तरिका मात्र होइन, त्यसमा जोडिने पारिवारिक, आर्थिक र सामाजिक मान्यता पनि फेरिंदै गइरहेका छन् । खासगरी जेनजी र मिलेनियल्स पुस्ताले अब प्रेमलाई भावनासँगै आर्थिक समझदारीको कुरा पनि बनाएको देखिन्छ ।
अघिल्लो पुस्ताका लागि प्रेमी प्रेमिका भेट्दा ‘तलब कति हो ?’ भन्ने प्रश्न सोध्नु अप्ठ्यारो मानिन्थ्यो । तर, अहिलेका तन्नेरीहरूले यो कुरा पहिलो भेटमै सोध्नुपर्ने ठान्न थालेका छन् । एक नयाँ सर्वेक्षणअनुसार जेनजी र मिलेनियल्सका आधाभन्दा बढीले डेटिङमा आम्दानीबारे खुला संवाद गर्नु आकर्षक मान्ने गरको देखिएको छ ।
त्यही अर्कोतर्फ, बेबी बुमर र जेन एक्सजस्ता पुराना पुस्ताका धेरैले अझै पनि डेटको खर्च पुरुषले बेहोर्नुपर्छ भन्ने धारणा राख्छन् । तर नयाँ पुस्ताका धेरै युवा भन्छन्, ‘जसले डेटको योजना बनाउँछ, उसैले तिर्नुपर्छ ।’ अरू धेरैले खर्च, आधा–आधा बाँड्नुपर्छ भन्ने विश्वास गर्छन् ।
आजको युवापुस्ताले पैसाको कुरामा खुला हुन थालेका छन् । तर, उनीहरू डेटिङमा बढ्दो खर्चको चाप पनि सहनुपरेको छ । सर्वेअनुसार, ३७ प्रतिशत जेन जेडका युवाले डेटमा धेरै खर्च गर्नुपरेको दबाब महसुस गरेका छन् । यत्तिसम्म कि १९ प्रतिशतले त खराब आर्थिक बानी भएकासँग सम्पर्क नै तोडेका छन् ।
बढ्दो महँगी र मुद्रास्फीतिका कारण ७४ प्रतिशत अमेरिकीहरूले आफ्नो डेटिङ जीवनमा असर परेको बताएका छन् । ३१ प्रतिशतले त खर्चकै कारण डेट रद्द गरेका छन् । अध्ययनका अनुसार खासगरी पुरुषहरूमा आर्थिक दबाब अझ बढी देखिएको छ । २१ प्रतिशत पुरुष डेटिङकै कारण ऋणमा परेका छन् भने ३९ प्रतिशतले धनी देखिनुपर्ने दबाब महसुस गरेका छन् ।
डेटिङमा खर्चको औसत पनि चर्को भएको छ । सम्बन्धमा छ महिनासम्म पुगेका व्यक्तिहरूले एक डेटमा औसत १०० डलरभन्दा बढी खर्च गर्ने गरेका छन् । तर यति सबै खर्च र तयारीका बाबजुद पनि, डेटिङमा पैसाको कुराकानी अझै पनि असहज विषय बनेको छ । २५ प्रतिशत मानिसहरूका लागि आर्थिक विषयमा कुरा गर्नु प्रेम–सम्बन्ध र यौनबारेको कुराकानीपछि तेस्रो सबैभन्दा तनावपूर्ण कुरा भएको सर्वेक्षणले देखाएको छ ।
कहिले आर्थिक कुराकानी गर्ने भन्ने विषयमा पनि मतभेद छ । केहीले पहिलोदेखि तेस्रो डेटभित्रै कुरा गरिनुपर्छ भन्छन् । भने केहीले गम्भीर सम्बन्ध बनेपछि मात्रै यस्ता कुरा गर्नु उचित ठान्छन् । लिंगअनुसार पनि सोच फरक देखिन्छ ।
४७ प्रतिशत पुरुष अझै पनि खर्च आफैंले गर्नुपर्छ भन्छन् । तर, महिलामा यो सोच ३४ प्रतिशतमा मात्र सीमित छ । महिलाहरू भने खासगरी कञ्जुस, बिल नतिर्ने, वा आर्थिक ज्ञान नभएका पार्टनरप्रति बढी चिढिने गरेका छन् ।
बदलिंदो सामाजिक सोच र आर्थिक यथार्थबीच अब डेटिङमा पारदर्शिता र समानता मुख्य प्राथमिकता बन्दै गएको छ । अब सम्बन्ध मन मिलाउने कुरा मात्रै नभइ आर्थिक समझदारीको सवाल पनि बनिसकेको छ ।
विशेषज्ञहरू भन्छन्, ‘आजको युवा पुस्ताले परम्परागत लैंगिक भूमिका भन्दा बराबरी र खुलापन रोजिरहेका छन् । त्यसैले अब प्रेममा साँचो सम्बन्ध बनाउने हो भने, खुलेर ‘पैसाको कुरा’ गर्न गाह्रो मान्नु नभई छलफलको लागि एक आवश्यक कुरा बनाउनुपर्ने समय आइसकेको छ ।