नेभिगेशन
मनोरञ्जन

स्पाइडरम्यानको नयाँ कथा अझ परिपक्व

लास भेगास (एपी) । टम हल्यान्डले नयाँ ‘स्पाइडरम्यानः ब्राण्ड न्यु डे’लाई अहिलेसम्मकै सबैभन्दा भावनात्मक र परिपक्व ‘स्पाइडर–म्यान’ फिल्म बताएका छन् । यो नयाँ फिल्ममा पिटर पार्करले आफ्ना साथीहरूलाई आफ्नो वास्तविक पहिचान बिर्सन बाध्य बनाएको निर्णयपछि आउने अवस्थासँग जुधिरहेको देखाइन्छ ।
बेलायती अभिनेता हल्यान्ड, जो विशेषगरी ’स्पाइडरम्यान’ पात्रका लागि प्रसिद्ध छन् । उनले ’स्पाइडरम्यान ः होमकमिङ’देखि मार्भल फिल्महरूमा पिटर पार्करको भूमिका खेलेका छन् । हलिउडका लोकप्रिय युवा स्टारमध्ये एक मानिने उनले यसपटकको कथा अझ परिपक्व भएर आएको बताएका छन् । 
यो नयाँ फिल्ममा पनि पिटर पार्कर स्पाइडरम्यानको मुख्यपात्रका रूपमा उनले नै अभिनय गरेका छन् । लासभेगासमा आयोजित सिनेमा प्रवर्धन समारोहमा सोनी पिक्चर्सले फिल्मको नयाँ दृश्य सार्वजनिक गरेको थियो । त्यसमा जेन्डायाले खेलेको एमजे पात्रको नयाँ प्रेमी देखाइएको छ । एक दृश्यमा पिटर पार्कर छिमेकीको रूपमा आफूलाई मेनार्ड भनेर चिनाउँदै एमजे र नेडको घर प्रवेश गर्छ ।
यसअघि २०२१ मा रिलिज भएको ’स्पाइडरम्यान ः नो वे होम’ ले विश्वभर १.९ अर्ब डलरभन्दा बढी कमाई गरेको थियो, जसमा टोबे म्याग्वायर र एन्ड्रयू गारफिल्ड जस्ता पुराना स्पाइडरम्यानहरूको उपस्थितिले ठूलो भूमिका खेलेको थियो । नयाँ फिल्म त्यसको पाँच वर्षपछि आउने भएकाले निकै प्रतिक्षित बनेको छ । यसको ट्रेलरले पहिलो चार दिनमै १ अर्बभन्दा बढी भ्यु पाएर रेकर्ड पनि बनाएको छ ।
यो फिल्मको निर्देशन डेस्टिन डेनियल क्रेटनले गरेका हुन्, जसले यसअघि ’शाङ–ची एण्ड लिजेन्ड अफ द टेन रिङ्स’ निर्देशन गरेका थिए । फिल्म जुलाई ३१ मा रिलिज हुने तय भएको छ । स्पाइडरम्यानको कथामा सन् २००२ यता हालसम्म १० वटा फिल्म आइसकेका छन् । पछिल्लोपटक टम हल्याण्ड देखिएका फिल्म नै ‘स्पाइडरम्यान ः ब्राण्ड न्यु डे’ सहमति चौथो हुन्छ । 
उक्त कार्यक्रममै सोनी पिक्चर्स कम्पनीले अन्य परियोजनाहरूको पनि घोषणा गरेको छ । भिडियो गेम ब्लडबोर्नमा आधारित आर–रेटेड फिल्म बनाउने योजना सार्वजनिक गरिएको छ । साथै ताकाशी यमाजाकीको नयाँ अंग्रेजी फिल्म ‘ग्राण्ड गियर’ सन् २०२८ फेब्रुअरी १८ मा रिलिज हुने बताइएको छ ।
त्यसैगरी, ‘स्पाइडर–भर्स’को अन्तिम भाग, नयाँ जुमान्जी ः ओपन वल्र्ड, जच क्रेजरको ’रेजिडेन्ट इभिल’ र आरोन सोर्किनको नयाँ फिल्म ‘द सोसल रिनकिङ’को झलक पनि देखाइएको थियो । यस फिल्ममा जेरेमी स्ट्रङले मार्क जुकरबर्गको भूमिका निर्वाह गरेका छन् । यो फिल्म फेसबुकसँग सम्बन्धित ‘फेसबुक फाइल्स’ प्रकरणमा आधारित छ ।
सोनीका अध्यक्ष टम रोथम्यानले यस वर्ष फिल्म उद्योगका लागि राम्रो हुने विश्वास व्यक्त गर्दै दर्शक घट्नुजस्ता चुनौतीहरू पनि रहेको बताए । उनले हल सञ्चालकहरूलाई फिल्म प्रदर्शन अवधि बढाउन, अत्यधिक विज्ञापन घटाउन र टिकट सुलभ बनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन