नेभिगेशन
राजनीति

पूर्व ऊर्जामन्त्री खड्काको फाइल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका  पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले बुधबार  खड्काकी  श्रीमती विनिता थापाद्वारा दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै अनुसन्धान फाइल झिकाउने आदेश गरेको हो । अदालतले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेस गर्न र अनुसन्धानको फाइल बुझाउन भनेको छ । 
नेता खड्कामाथि पछिल्लो समय राजस्व अनुसन्धान विभागबाट अनुसन्धान चलिरहेको छ । उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरे पनि अनुसन्धान गरेर प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो । आन्तरिक राजस्व अनुसन्धान विभागले फेरि  फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
आदेशमा भनिएको छ, ‘म्याद थपका लागि राजस्व अनुसन्धान विभागले गरेको अनुरोध र अदालतले म्याद दिँदाका सम्पूर्ण कागजातसहितको मिसिल तथा ललितपुर अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चासमेत संलग्न गरी २०८३ वैशाख ३ गते १२ बजेभित्रमा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाइ प्रस्तुत रिट निवेदन २०८३ वैशाख ३ गतेका लागि नियमानुसार पेसी तोक्नू ।’
सोमबार राजस्व अनुसन्धान विभागले नेता खड्कालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चैत १५ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्